+
+

मौसम खराब हुँदा तारा एयरको जहाज खोज्न समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १२:१७
काठमाडौंस्थित मौसम विज्ञान विभागको कार्यालय

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ ।

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी टि्वनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद हिरा भट्टराईले अनलाइनखबरसँग भने, ‘मुस्ताङको थाकमार्फा केन्द्रमा ०.२ मिलिमिटर पानी परेको रेकर्ड छ, जसलाई हामी नगन्य भन्छौं । तर उच्च पहाडी र पहाडी क्षेत्रका अधिकांश स्थानमा आज बिहानैदेखि बदलीको अवस्था थियो ।’ उनले आज अपराह्नदेखि सो क्षेत्रमा मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको बताए ।

मौसमविद भट्टराईले भने, ‘अपराह्न हुँदै जाँदाखेरि पानी पर्ने सिस्टम झन् बलियो हुँदै जाने देखिन्छ । त्यसैले पोखरा, मुस्ताङ एरियातिर आकाश खुल्ने सम्भावना धेरै कम छ । तराईतिर भने अलि–अलि खुल्ला ।’

घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल अहिले लागिरहेको छ र पानी पनि परिरहेको छ ।

हिमाली र उच्च पहाडी धेरै भागमा मौसमबारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?