+
+

आयकरको सीमा हेरफेर, अब तपाईंले कति कर तिर्नुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते २१:१३

१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमा परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मार्फत सरकारले पारिश्रमिकमा आधारित भएर आम्दानी गर्नेहरुको हकमा केही खुकुलो नीति अपनाएको हो ।

बजेटको नयाँ व्यवस्थाअनुसार तपाईंको आम्दानी कति छ ? र कति कर तिर्नुपर्छ ? यसरी हिसाव गर्नुहोस् ।

करको पहिलो सीमा

तपाई अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ हजार रुपैयाँ कर तिर्दै आउनुभएको छ । विवाहितले भने साढे ४ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर तिर्दै आएका छन् ।

बजेट वक्तव्यले १ प्रतिशत कर तिरेर हुने आम्दानीको सीमा अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा ६ लाख पुर्‍याएको छ । यदि तपाई अविवाहित हो भने वार्षिक ५ लाख रुपैयाँसम्म कमाउदा वार्षिक केवल ५ हजार कर तिरे पुग्छ । विवाहित हो भने ६ लाख रुपैयाँसम्म वार्षिक ६ हजार कर तिरे पुग्छ ।

करको दोस्रो सीमा

दोस्रो करको सीमा अविवाहितका लागि ७ लाख रुपैयाँसम्मको छ । तपाईंको कमाई ५ लाख रुपैयाँभन्दा बढी छ भने ५ लाख रुपैयाँभन्दा जति बढी रकम आम्दानी हुन्छ, त्यसमा १० प्रतिशत कर लाग्छ ।

त्यो कर ५ लाख रुपैयाँमा होइन कि त्यस भन्दा बढी भएको रकममा मात्र लाग्ने हो । विवाहितको हकमा ६ लाख रुपैयाभन्दा माथि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर लाग्छ ।

करको तेस्रो सीमा

करको तेस्रो सीमा अविवाहितको हकमा ७ लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको राखिएको छ । विवाहितको हकमा ८ लाखबाट ११ लाखसम्मको राखिएको छ । अविवाहितको आम्दानी वार्षिक ७ देखि १० लाख रुपैयाँ भएमा ७ लाख भन्दा माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ । विवाहितलाई ८ लाखदेखि माथिको आम्दानीमा २० प्रतिशत कर लाग्छ ।

करको चौथो सीमा

हालसम्म साढे ७ देखि थप १३ लाख रुपैयाँ वार्षिक आम्दानी भए बढेको रकममा ३० प्रतिशत कर लाग्थ्यो । त्यो दर यथावत अर्थात ३० प्रतिशत नै कायम छ । तर अब अविवाहितको हकमा १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्छ । विवाहितको हकमा ११ लाखभन्दा माथि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत कर लाग्छ ।

करको पाँचौ सीमा

वार्षिक २० लाख रुपैंयाभन्दा बढी रकम कमाउनेको हकमा तल्लो दायराका कर तिरेर माथिको हकमा ३६ प्रतिशत करको व्यवस्था कायमै छ  । यदि तपाईंले बार्षिक २५ लाख कमाउनु हुन्छ भने अब कुल ५ लाख ३६ हजार रूपैयाँ आयकर तिर्नुपर्ने छ ।

* यसअघि २० लाख रुपैंयाभन्दा बढी आयमा लाग्ने कर ३६ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचना गर्दै सच्याएका छाैं – सं.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?