+
+
Shares

भरत नेपाल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १२:५७

काठमाडौं । मानसिक स्वास्थ्य र आत्महत्या रोकथाममा योगदान गरेवाफत् भरत नेपाल अष्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

उनलाई सन् २०२६ को ‘अष्ट्रेलिया डे अनर्स’ सूचीअन्तर्गत ‘मेडल अफ द अर्डर अफ अष्ट्रेलिया (ओएएम)’ बाट सम्मान गरिएको हो ।

मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कलंक हटाउने, प्रवासी समुदायका लागि सांस्कृतिक रूपमा अनुकूल सहयोग प्रणाली विकास गर्ने तथा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने काममा नेपाल लामो समयदेखि सक्रिय छन् ।

उनले सन् २०१२ देखि अस्ट्रेलियन नेपाली पब्लिक लिंक इन्क का संस्थापक अध्यक्षका रूपमा समुदायको हित, सामाजिक एकता र कल्याणका क्षेत्रमा काम गर्दै आएका छन् ।

त्यस्तै, सन् २००३ देखि एनएसडब्ल्यू हेल्थ अन्तर्गत मानसिक स्वास्थ्य प्राथमिक सहायता प्रशिक्षक, परामर्शदाता तथा अनुसन्धानकर्ताका रूपमा पनि उनले काम गरिरहेका छन् ।

दक्षिण एसियाली समुदायमा मानसिक स्वास्थ्य चुनौती र आत्महत्या रोकथामका विषयमा नीति तथा समुदायस्तरमा पहल गर्न उनले सन् २०२४ मा आयोजित साउथ एसियन सुसाइड प्रिभेन्सन समिटको सह–आयोजकको भूमिका पनि निर्वाह गरेका थिए ।

यो सम्मानसँगै भरत नेपाल ‘अर्डर अफ अष्ट्रेलिया’ सम्मान प्राप्त गर्ने नेपाली मूलका सीमित व्यक्तिमध्ये एक बनेका छन् ।

उनको सम्मानलाई अष्ट्रेलियामा नेपाली समुदायले हासिल गरेको बढ्दो प्रभाव, सामाजिक योगदान तथा बहुसांस्कृतिक समाजमा नेपाली डायस्पोराले खेलेको भूमिकाको अन्तर्राष्ट्रिय पहिचानका रूपमा पनि हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?