+
+

तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु, एकजनाको शव भेटिन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते २३:२२

१६ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । तीमध्ये २१ जनाको शव भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अनलाइनखबरलाई बताए ।

‘२१औंको शव खोँचमा च्यापिएको अवस्थामा भेटिएको छ, भोलि निकालिनेछ’ सहायक रथी सिलवालले भने, ‘थप एकजनाको शव चाहिँ लोकेट भएको छैन ।’ मंगलबार बिहानैबाट खोजी तथा उद्दार टोलीमार्फत बाँकी रहेको शवको पनि खोजी थालिने सिलवालको भनाइ छ ।

उनका अनुसार संकलन गरिएका मध्ये १० वटा शवलाई नेपाली सेनाको एआई १७ हेलिकोप्टरमार्फत सोमबारै काठमाडौं ल्याएको छ । ती शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा राखिएको छ । सिलवाल भन्छन्, ‘थप शवलाई पनि काठमाडौं ल्याएर पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिनेछ ।’

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

सोमबार बिहानैबाट नेपाली सेनाको नारायणदल गण र उच्च शिखर शिक्षालय खोजी खोजी तथा उद्दारका लागि खटिएको थियो । त्यहीबीच थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त विमान देखिएको भन्दै यार्सागुम्बा संकलक किसानले सुरक्षाकर्मीलाई खबर गरे । उनीहरुले दुर्घटना भएको हेलिकोप्टरको तस्वीर पनि पठाएपछि उद्दारको टोली पठाइएको थियो ।

‘फिस्टेल एयरको हेलिकोप्टरले दुई पटकमा ८ जनालाई उतारेको थियो’ दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता इन्द्रसिंह शेरचन भन्छन्, ‘त्यसपछि पनि लामो समयसम्म थप हेलिकोप्टर आउन सकेको थिएन ।’

सेनाको एआई १७ हेलिकोप्टरमार्फत दिउँसो सेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष फौज बाहिनीको सीक्यूआरटी टोली कोबाङ्गमा अवतरण गरेको थियो । सोही हेलिकोप्टरमा मध्यकमाण्डका सेनापति, रेञ्जर तथा विपद् व्यवस्थापन टोली लगायतलाई दुर्घटनास्थलतर्फ लगिएको थियो । तर खराब मौसमका कारण उनीहरुलाई १४ हजार १५ फिट उचाइमा अवतरण गराइएको थियो ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?