+
+

नुवाकोट–१ बाट चुनाव लड्ने प्रकाशशरणको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते २१:०५

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा काठमाडौं ५ बाट नउठ्ने भएका छन् । गृह जिल्ला नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनका लागि उनले काठमाडौं ५ छोड्न लागेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं ५ मा पराजित भएका थिए । त्यसअघि भने यो क्षेत्रमा  कांग्रेस नेता नरहरि आचार्यले एमालेका पोखरेललाई पराजित गरेका थिए । ‘प्रकाशशरण दाइ काठमाडौं ५ मा अहिले उम्मेदवार बन्नहुन्न । सार्वजनिक रुपमा त उहाँले भन्नुभएको छैन,’ महत निकट नुवाकोटका एक जिल्ला नेताले भने,‘नुवाकोट १ मा बाट उठ्ने तयारी गर्नुभएको छ ।’

नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ । गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाई महत्व दिने गरेको पनि जिल्ला नेताहरु बताउँछन् । केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट १ मा लगेर कार्यक्रम गरेका थिए ।

गत निर्वाचनमा एमालेका उम्मेदवार पोखरेलले २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महतले १३ हजार १६९ मत ल्याई फराकिलो अन्तरले पराजित भएका थिए । महतले अहिले रोजेको नुवाकोट १ मा पनि कांग्रेस अघिल्लोपटक फराकिलो अन्तरले पराजित भएको थियो ।

माओवादी केन्द्रका हित बहादुर तामाङले ३६ हजार ४७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत सहित पराजित भएका थिए । शिवपुरी,ककनी,पञ्चकन्या, तादी,सूर्यगढी र दुप्चेश्वर पालिका नुवाकोटको १ नम्बर क्षेत्रमा पर्दछन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ ।

प्रकाशशरण महतले नुवाकोट रोजेपछि काठमाडौं–५ मा कांग्रेसबाट उम्मेदवार बन्ने आकांक्षीहरु देखिन समेत थालेका छन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गोविन्द भट्टराईले काठमाडौं ५ मा आकांक्षा देखाएका छन् । पौडेल र भट्टराई दुबै तनहुँका हुन् । ती नेताका अनुसार नेताहरु कृष्णप्रसाद सिटौला र भीमसेनदास प्रधानले यस क्षेत्रमा प्रदीप पौडेललाई उम्मेदवार बनाउन चाहेका छन् । अर्कोतर्फ, उपसभापति पूर्णबहादुर खड्काले भट्टराईलाई उम्मेदवार बनाउन चाहेका छन् ।

काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका गगन थापालाई क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न स्थानीय नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए । उनले आफ्नो क्षेत्र नछोड्ने अडान राखेपछि अन्य उम्मेदवारको खोजी भएको छ । क्षेत्रीय सभापति श्याम खड्का पनि काठमाडौं ५ को उम्मेदवारका आकांक्षी हुन् ।

‘प्रदीप जीलाई तनहुँमा केन्द्रको टिकट पाउन समस्या छ । तनहुँमा कांग्रेसका नेताहरु धेरै छन्’ ती केन्द्रीय सदस्यले भने, ‘काठमाडौं ५ वा ७ उहाँ मध्ये एउटामा उम्मेदवार हुने इच्छा राख्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?