+
+

‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १४:५७

काठमाडौं । वितरकका अनुसार ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा १७ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । ११ दिनमा फिल्मले उक्त कमाइ गरेको वितरक र निर्माताले जानकारी दिएका छन् ।

१७ करोडलाई दर्शकीय मूल्यमा रुपान्तरण गर्दा ५ लाख जनाले ‘कबड्डी ४’ हेरेको अनुमान छ । ‘कबड्डी’ चौथो सिक्वेलले यतिविधि व्यापार गर्ला भनेर स्वयं फिल्म निर्माता र निर्देशकले सोचेकै थिएनन् । अभिनेता दयाहाङ राईले त आफूले यस्तो सोच्दै नसोचेको बताए ।

वितरकले उपलब्ध गराएको तथ्यांकअनुसार ‘कबड्डी ४’ले सबैभन्दा बढी कमाइ गर्ने ‘छक्कापञ्जा १’को कीर्तिमानलाई समेत उछिनेको छ । निर्विवाद के हो भने ‘कबड्डी’ले स्वदेशमा मात्र होइन, विदेशमा समेत ब्लकबस्टर कमाइ गरेको छ । अस्ट्रेलियामा एक करोडभन्दा कमाइ गर्दा जापानको कलेक्सन ७० लाख छ ।

नेपाली फिल्मको लागि यो अभूतपूर्व कमाइ हो । ‘कबड्डी ४’ किन चल्यो भन्नेबारेमा फिल्म समीक्षक तथा निर्देशक मनोज पण्डितले केही तथ्य यहाँ प्रस्तुत गरेका छन्–

१. पपुलर फिगर र स्टारडमको प्रभाव

पूँजीवादी समाजमा स्टारडमको ठूलो प्रभाव हुन्छ । हाम्रो समाज पपुलर चीजलाई रुचाउँछ । दयाहाङ राई, सौगात मल्लजस्ता स्टारको छविले दर्शक तान्न धेरै ठूलो भूमिका खेलेको छ ।

२. सूचनाको प्रचूरता

यो फिल्मबारे मानिसलाई धेरै पहिलेदेखि जानकारी छ । दर्शकले वर्षौं पहिलेदेखि पात्र, उसको चाहना र अभावलाई राम्रोसँग बुझेका छन् । अघिल्ला दुई फिल्मले सेटिङको भूमिका खेलेका थिए । यो फिल्म आफैंमा सिरिज भए पनि यसमा आर्क (संरचना) छ । त्यो आर्कले काम गरेको हो ।

३. नयाँ टिमसँग विश्वसनीयता छैन

नेपाली दर्शकले नयाँ फिल्ममेकरलाई विश्वास गर्न छाडेका छन् । दर्शकले स्थापित कुरामा विश्वसनीयता खोजेका छन् । ‘कबड्डी’को सेटिङ दर्शकको लागि विश्वसनीय छ । विश्वसनीय कथा शैलीलाई यसले पस्किएको छ । अल्टरनेटभन्दा पनि स्थापित समाजको चाहनालाई फिल्मले चित्रण गरेको छ । अर्कोतर्फ पुरुषभन्दा महिला दर्शक बढी छन् । बिहे भन्ने कुरामा पुरुषभन्दा महिलालाई बढी रोमाञ्चक लाग्छ ।

४. हिंसाको कम प्रयोग

फिल्ममा हिंसाको कम प्रयोगले दर्शकलाई आकर्षण गर्‍यो । नेपाली समाज हिंसा रुचाउने समाज भइसकेको छैन भन्ने सन्देश यसले दिन्छ । अघिल्ला फिल्ममा हिंसा र यौनिकता बढी थियो । यसमा त्यो छैन जसले धेरै दर्शकलाई तान्यो । भारतमा हिंसा चल्दा नेपालमा हिंसा नचल्नुलाई राम्रो सन्देश पनि मान्न सकिन्छ ।

६. पन्चलाइन र ट्वाक्कटुक्कप्रति समाजको आकर्षण

हाम्रो समाज झगडा गर्दैन । ट्वाक्कटुक्क मन पराउने समाज हो । यस्ता चीज कबड्डीका पात्रमा छ । दर्शकले यस्ता चीजलाई मन पराउँछन् । पन्चलाइन हाम्रा दर्शकले रुचाउने मुख्य विशेषता हो, जुन तत्व कबड्डीमा भरपूर छ ।

७. पात्रसँगको सम्बन्ध

दयाहाङको पात्रले दर्शकलाई भावनात्मक रुपमा गाँसेको छ । किनभने दयाहाङप्रति समाजको सदासयता पनि छ । दर्शक तान्न दयाहाङ फ्याक्टरले पनि राम्रै काम गरेको छ ।

८. फाइनल म्याच भनेर प्रचार

जीवनमा फाइनल म्याचको मूल्य छ । फाइनलमा भीड नै हुन्छ । केटाले केटी पाउला त भनेर सामान्य महिला र आम सर्वसाधारणलाई परेको थियो । सरल प्रश्न छ । यसले धेरै मानिसलाई आकर्षण गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?