+
+

अघि बढ्यो तामाकोशी पाँचौं, १६ अर्ब ४५ करोड लगानी स्वीकृत

रासस रासस
२०७९ जेठ २४ गते १७:१४

२४ जेठ, काठमाडौं । माथिल्लो तामाकोशी आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोशी पाँचौंको पनि छिट्टै निर्माण सुरु हुने भएको छ ।

माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर १०० मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको सोमबार मात्रै सरकारले लगानी स्वीकृत गरेको छ । पाँच अर्ब माथि लगानी हुने आयोजनाको निर्णय लगानी बोर्डमार्फत हुनुपर्ने कानुनी प्रावधान छ ।

तामाकोशी पाँचौंका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको यो आकर्षक आयोजना हो ।

तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको छ । परामर्शदाता छनौटको काम अन्तिम चरणमा पुगेको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ । आगामी असार मसान्तभित्रै सबै काम सक्ने योजनाका साथ काम भइरहेको उनले जानकारी दिए ।

निर्माण व्यवसायी छनौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ ।  नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा गत साउनमा हस्ताक्षर भएको थियो ।

माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौँ अगाडि बढाउन लागिएको हो । आयोजनाको कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने नेपाल विद्युत प्राधिकरणले नै लगानी गर्नेछ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरी दोभान पुर्‍याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज भएको प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि सहज भएको हो ।

माथिल्लो तामाकोशीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत  १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ ।

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आयोजनाले स्थानीय प्रभावित एवं आमसर्वसाधारणलाई साधारण शेयर बिक्री गर्नेछ । केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि उठेको थियो । तर, प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?