+
+

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १९:३१

२४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् ।

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ ।

अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो ।

यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावललाई पनि निलम्बन गर्न अख्तियारले पत्र पठाएको छ । कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । यो मुद्दा हाल विचाराधीन छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहेका उनले बेतलवी विदामा बसेको समयको पनि विदा सुविधा वापतको रकम पाएको विषयमा अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । मुद्दा किनारा नलाग्दासम्म उनीहरु स्वतः निलम्बनमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?