+
+

के नैतिक धर्मको पुनर्व्याख्या जरुरी छ ?

नागरिकलाई दिने अधिकारको खाली चेक थमाएर सरकार बारम्बार चेक बाउन्स गर्न अग्रसर बनेर सदासर्वदा गैरजिम्मेवार बन्छ । यस्तैगरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रय–विक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकोले नैतिकताको पुनर्व्याख्या जरुरी भनिएको हो ।

सञ्जीव कार्की सञ्जीव कार्की
२०७९ जेठ २९ गते ८:०८

नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो । नयाँ सन्दर्भमा नैतिकताको पुनर्व्याख्या आवश्यक छ । नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतालाई आ-आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ ।

आजभोलि हाम्रो नैतिक धरातल एकदम फितलो भएको छ । नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैं भएको छ ।

बिर्सन नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । कुनै पनि मानक बन्ने क्रममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनैतिक लगायत अन्य क्षेत्रका अगुवाको देन महत्वपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निसृत हुन्छ । सामाजिक भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।

नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अंकगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने त्यो च्यूत हुन्छ, अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन्। लोभ र मोहमा फसेका देखिन्छन्। सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ । अत: नैतिकताको पनि पुनरावलोकन, पुनर्व्याख्या र पुनर्पुष्टि जरूरी देखिएको छ।

कुनै पनि कुराको औचित्य त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन। ऊ अप्रश्नीय बन्छ। जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसको बारेमा पूर्व मान्यता, दर्शन र मानकबारे सोच मग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ। कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रक्रिया हुन्छन्। तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नवमान्यता स्थापित गर्न विहंगम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसको लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यको समिप पुग्नु प्रथम खुड्किलो हो ।

विसर्जनतिर नैतिक

समाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधि बेचबिखनमा बढी सक्रिय हुन थाल्यो । डाक्टर कम व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिंड्न थाल्यो विश्वविद्यालयको प्राध्यापक । न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश विचौलिया र न्याय खरिद–बिक्रीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट हाउस झैं भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडक्रस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । पुजारी, पादरी र लामाहरूको व्यापारिक दोकान बन्यो मन्दिर, चर्च र गुम्बा ।

बुद्ध मार्ने र हिटलर पाल्ने महान मान्छेको दर्जामा उक्लियो । नागरिकलाई दिने अधिकारको खाली चेक थमाएर सरकार बारम्बार चेक बाउन्स गर्न अग्रसर बनेर सदा सर्वदा गैरजिम्वेवार बन्छ । यस्तैगरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रयविक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकोले नैतिकताको पुनर्व्याख्या जरुरी भनिएको हो ।

समाज सधैं सनातन तवरले चल्न सक्दैन। कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नुपर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नुपर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नुपर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइ राख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछूत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मून गर्न अभियान चलाउन जति ढिला गर्‍यो, नोक्सानी त्यति नै बढ्नेछ ।

हिन्दूधर्ममा जातीय छुवाछूत छैन भनेर सफेद झूट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम मानवता विरुद्धको अपराध र मानवीय सभ्यता माथिको भद्दा मजाक हुनेछ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला गर्‍यो, उति हिन्दु धर्म संकुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न ।

तसर्थ समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानवहितकारी तत्वको आत्मसात् र अमानवीय रुढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनुपर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् ।

चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधी राख्ने कडी पनि हो मनुस्मृति । तर मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको चेत हो । दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन। त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनर्व्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानुपर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य निर्माण गर्नुपर्छ । वैचारिक बहस निर्माण गर्नुपर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ ।

कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेषगरी वेदको व्याख्या गरिंदा आएका विकृत कुराहरू महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनुपर्छ ।

पुनरावलोकनको अमृतमय अवसर

अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेद भित्र के छैन कति गहन जीवन, दर्शन र नीति नियतिको र विज्ञान छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसैगरी वेद भित्र त्याज्य कुरा र प्रसंग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् ।

यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झंझटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । आजपर्यन्त रहस्यको गर्भ भित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने ई.पू १८०० देखि १५०० वर्ष पहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वान्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल दार्शनिक मत रहेको छ ।

यद्दपि पुरानो हुने बित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन विल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो सो आज हुन, नहुन सक्छ त्यसैले मूल्यांकन, पुनर्मूल्याङ्कन, पुनरावलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । आजको सरोकार मृत्युको होइन कालजयी कृतिको अमरत्वको लागि हो ।

जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरूपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैंले आफैंलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्म विपरित हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीहरूले बुझ्नुपर्छ । दर्शन बुद्धि तत्व र ज्ञानको विषय भएको हुनाले तत्वको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तत्व ज्ञान सम्भव छ सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरावलोकन अमृतमय अवसर पनि हो ।

आचरण हो नैतिकता

धर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास, संस्कार र आचरण हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनुपर्छ । नैतिकता अवलम्बन गरिने विषय हो ढोंग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ता बाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो ।

नैतिकता मानवीय मूल्यहरूको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्ने र जीवनमा खुसी भित्र्याउने तागत राख्दछ । नैतिकता खुसीको साँचोको रूपमा पनि परिचित छ । लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिंदैछ लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ। यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ ।

विवेक आवेगको नियन्त्रणबाट खोस्न पनि नैतिक शिक्षालय खोल्नु र चलाउनु नैतिक आरन बनाउनु र अर्जाप्नु पाइन राख्नुपर्छ । विचार सिद्धान्त दर्शन र दिग्दर्शन कुनै पनि कुराको हामीमा कमि छैन ज्ञान र विज्ञानको युगमा लापरवाह गैरजिम्मेवार अनि असन्तुष्ट र खतरनाक भएर आफैंलाई सिध्याउने छुट हामीलाई छैन । सुध्रने र सपार्ने विन्दु र सीमा बाँकी छन् समय रहँदै हेक्का राखौं । विवेक बन्धन र बुद्धि विलासले निम्त्याउने खतिले आज रहौंला, भोलि रहन्नौं ।

(लेखक एमफिल/पिएच.डी अनुसन्धाता हुन्)

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?