+
+

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १५:१०

३० जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।

मनसुन सुरु भइसक्दा पनि गृहमन्त्री खाँणले चासो नदिँदा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका वेला सोमबार समितिको बैठक बसेको हो ।

बैठकमा मन्त्री खाणले यो वर्षका हुनसक्ने मनसुनजन्य विपद्का लागि तयार गरिएका जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना पनि लिखितरुपमा पेश गर्न निर्देशन दिएका छन् । बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत छलफल भएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधरणसम्म पुग्नेगरी संचार गर्न सुझाव दिए । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखिन् ।

मुख्यसचिव शंकरदास बैरागीले उद्दार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनैतिक स्थानहरुमा पर्याप्त मात्रामा उपकरणहरुको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिए ।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले आफ्ना निकायबाट भएका पूर्वतयारीका अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?