+
+

लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ७:५३

३१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ ।

शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो ।

लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ र अर्को वर्ष हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान लगभग बनाइसकेको छ ।

यता नेपाल भने आधा खेल पनि खेलेको छैन । ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ ।

जारी शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि घरेलु टोली अमेरिकासँगको खेल रोमाञ्चक रुपमा बराबरी भएको थियो ।

ओमानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरे पनि त्यसपछि नेपाल र अमेरिकालाई हराउँदै लयमा देखिएको छ ।

पहिलो खेलमा समस्याको रुपमा रहेको नेपालको ब्याटिङ दोस्रो खेलमा केही सुधारिएको थियो । ओमानविरुद्ध पनि नेपालले त्यही सुधारिएको लयलाई कायम राख्नु जरुरी छ ।

लिग टू मा ओमानको अन्तिम खेललाई खल्लो बनाउने लक्ष्यमा रहेको नेपाल अघिल्लो हारको बदलासमेत लिन चाहन्छ । तर एक दिवसीयमा ओमान नेपालमाथि हाही बन्दै आएको छ ।

लिग टू मा अहिलेसम्म खेलेको ५ खेलमा ओमानले ४ खेल जित्दा नेपालले जम्मा १ खेल मात्र जितेको छ ।

यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेपछि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?