+
+

प्रचण्डलाई एमालेको चुनौती : एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:३६

२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले गठबन्धनको नेताहरुले झुटो बोलेको बताए ।

बिहीबार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेका थिए । त्यसतर्फ संकेत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘म केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री थिएँ । यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसदसमक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौं ।’

उनले अघि भने, ‘हिम्मत छ भने केपी ओलीको पालामा भएको हो भनेर प्रस्तुत गर्नुस् । होइन भने उहाँले गैरजिम्मेवार ढंगले बोलेकोमा क्षमा माग्नुपर्छ ।’

पूर्वरक्षामन्त्री पोखरेलका अनुसार स्टेट पार्टनरसीप प्रोग्रामका लागि अमेरिकाले प्रस्ताव गरेको बेला नेपालले २०१५ र २०१७ मा पोजेटिभ रेस्पोन्स गरेर पठाएको थियो । ‘२०१५ मा कसको नेतृत्वमा सरकार थियो ? प्रधानमन्त्री को थिए ? रक्षामन्त्री को थिए ? प्रधानमन्त्री र रक्षामन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ ? २०१७ मा जसले एसपीपीलाई सकारात्मक ढंगले पठायो, त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ?’ पोखरेलले भने, ‘गठबन्धनका नेताहरुले आज गलत ढंगले झुट बोलिरहनु भएको छ । उल्टो एमालेप्रति आक्षेप लगाउने काम गर्नु भएको छ ।’

२०१५ मा सुशील कोइराला र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यसबेला सकारात्मक जवाफ पठाउनेहरु नै अहिले गलत बोलिरहेको भन्दै उनले भने, ‘एमालेप्रति संकेत गर्दै जुन आक्षेप लगाउनु भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु ।’

ओली सरकारका पालामा इण्डो प्यासिफिक स्ट्राटेजीको अंग बनाउने कुरा उठेपछि तत्कालीन परराष्ट्र सचिवकै नेतृत्वमा कार्यदल बनाएको उनले सुनाए । ‘कार्यदलले एसपीपीको नाममा अगाडि बढाउनु उचित हुँदैन भनेको छ । यो तथ्य हुँदाहुँदै लाज पचाएर गलत ढंगले यो कुरा उछालिँदैछ ।’

अमेरिकी अधिकारीहरुसँग भएको भेटमा समेत आफूहरुले असंलग्न परराष्ट्र नीति अनुसार कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैन भनेको उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?