+
+

एसीसी टी–२० च्याम्पियनसिपमा नेपालको उपाधि भोक

नमिता दाहाल नमिता दाहाल
२०७९ असार २ गते १९:१५

२ असार, काठमाडौं । डेढ दशकको अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला क्रिकेट टिम ठूला आधिकारिक प्रतियोगितामा उपाधि जित्न सकेको छैन । अघिल्लो वर्ष टी–२० विश्वकप छनोटअघि अभ्यासस्वरुप कतारसँग भएको शृंखला क्लिनस्वीप गरेको नेपालले उपाधि जित्ने लक्ष्यसहित शुक्रबारदेखि एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्दैछ ।

नेपालले पहिलो खेल शुक्रबार भुटानसँग मलेसियाको यूकेएम ओभलमा हुनेछ । यो खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । एसियाली क्षेत्रका १० वटा एशोसिएट टोलीबीच हुन लागेको यो प्रतियोगिताको विजेताले अक्टोबरमा हुने एसिया कप महिला टी–२० खेल्न पाउनेछ ।

यस पटक एसीसी टी–२० च्याम्पियसिपमा १० देश सहभागी छन् । उनीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । वरीयताको हिसावमा नेपाल प्रतियोगिताको उपाधि दावेदार टोली हो । त्यसका लागि नेपालले हङकङ, युएईजस्ता दावेदार टोलीलाई पन्छाउनुपर्नेछ । नेपाल रहेको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन् ।

राम्रो सम्भावना भएर पनि महिला क्रिकेट टोली नियमनकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) र सरकारको प्राथमिकतामा नपरेको भन्दै आलोचना हुने गरेको छ । नेपाली टोली मुस्किलले वर्षको एक÷दुई प्रतियोगितामा सीमित छ ।
सन् २०२१ को नोभेम्बरमा आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा युएई र हङकङसँग पराजित भएको थियो । यो प्रतियोगितामा यी टोलीहरुलाई पराजित गर्नु नै नेपालको ठूलो चुनौति हो । त्यसअघि नेपालले अभ्यासस्वरुप कतारसँग टी–२० शृंखला खेलेको थियो ।

नेपालले जेठ पहिलो साता युगाण्डालाई आमन्त्रण गरी घरेलु मैदानमा एतिहासिक शृंखला खेल्यो । पाँच खेलको शृंखला नेपालले ३–२ ले हारेको हो ।

प्रशिक्षक जगत टमटाले नेपाली टिम प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । पुरुष टिमलाई एकदिवशीय मान्यता दिलाउने अनुभवी प्रशिक्षक टमाटाले महिला टिमको जिम्मेबारी सम्हालेको तीन वर्ष भयो । लामो समय निरन्तरको प्रशिक्षणपछि उनले टिमलाई आफ्नो रणनीतिअनुसार तयार गरेको दावी गरेका छन् ।

एक दशकदेखि टिमको कप्तानी गरिरहेकी रुविना क्षेत्रीले पनि एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधी नेपाल भित्र्याउने लक्ष्य रहेको बताएकी हुन् । यस पटक जसरी भए पनि उपाधी जितेर फर्कने उनले बारम्बार दोहोर्‍याउँदै भनेकी छिन् ।

नेपालले घरेलु मैदानमा खेलेको युगान्डासँगको सिरिजमा नेपालको मुख्य समस्याका रुपमा फिल्डिङ र फिटनेस देखिएको थियो । त्यो बाहेक टी–२० फर्म्याटमा नेपालले १०० को लक्ष्य बनाउन वा भेटाउन निकै मुस्किल हुने गरेको थियो । यो समस्याहरुमा एक महिना लामो प्रशिक्षणले सुधार ल्याएको रुविनाले बताएकी थिइन् ।

‘यस पटक हामी जसरी पनि उपाधी लिएर फर्कने लक्ष्य लिएका छौं । जसरी पनि च्याम्पियनसिप जित्दै एसिया कपमा छनोट भएर फर्कन्छौं’, मलेसिया उड्नअघि उनले भनेकी थिइन् ।

मलेसियामा नेपाली टिमले बलिङलाई आफ्नो हतियारका रुपमा प्रस्तुत गर्नेछ । नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दै आएको छ । तर पछिल्लो पटक भने फास्ट बलिङ र स्पिन दुवै खालका बलरको प्रदर्शन नियमित हुन नसक्दा नेपालली टिमले हार बेहोर्नु परेको छ ।

यस पटक युगान्डा सिरिजमा पनि नेपालको नयाँ खेलाडीको रुपमा डेब्यु गरेकी हिरन्मई राय नेपालको बलिङमा निकै आशा लाग्दो खेलाडी थिइन् । नेपालले युगान्डासँगको सिरिजमा २ खेल जित्दा हिरन्मईकोे बलिङ निकै कसिलो रहेको थियो । तर उनी यस च्यम्पियनसिपमा कागजी प्राबधान नमिल्दा जान पाइनन् ।

उनको ठाउँमा नेपालले यस च्याम्पियनसिपका लागि भनेर उनको ठाउँ पूरा गर्न ल्याएकी अर्की बाँया हाते अफस्पिनर मनिषा उपाध्याय पनि स्वास्थ्य समस्याका कारण जान पाइनन् । अहिले नेपालको मुख्य बलरका रुपमा कविता कुँवर छिन् । त्यसबाहेक फास्ट बलिङमा सवनम राई, युगान्डा सिरिजमा डेब्यु गरेकी अस्मिना कर्माचार्यले सम्हाल्नेछन् ।

स्पिन अलराउन्डर सीता रानामगर र संगीता राईको अनुभव पनि प्रभावशाली रहनेछ । बलिङतर्फ सन् २०१९ को दक्षिण एसियाली खेलकुदपछि पहिलोपल्ट ममता चौधरीले टिममा कमब्याक गरेकी छन् ।

नेपालको ब्याटिङमा ओपनर ब्याटर बिन्दु रावल, ज्योती पाण्डे, सीता राना र इन्दु बर्मा नै मुख्य छन् । कप्तान रुबिना क्षेत्री, अप्सरी बेगम र कविता जोशीसहित डली भट्टको पावरफूल ब्याटिङले प्रभाव राख्नेछ ।

कमजोरी र चुनौती

नेपालको प्रमुख चुनौतीको रुपमा देखा परेको दुई बलिया टिम हङकङ र युएई हुन् । युगान्डा शृंखलाको क्रममा नेपालले फिटनेसको कमजोरी पहिल्याएको थियो । नेपाली खेलाडी डेढ वर्ष पश्चात अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको भएर र एक्सपोजरको कमी भएका कारण खेलाडीको फिटनेसमा समस्या रहेको कप्तान क्षेत्रीले नै औंल्याएकी थिइन् ।

नेपालको अर्को समस्या भनेको फिल्डिङ हो । फिल्डिङको समस्यामा नेपाली टिमले युगान्डासँगको तीन खेलमा हार बेहोर्नुको मुख्य कारण रहेको थियो । खेलाडीले हाइ क्याच लिन नसक्नु क्याच ड्रप गर्नु, ग्राउन्ड बल भेट्न नसक्नु समस्या थियो ।

ब्याटिङ नेपालको सदाबहार समस्या हो । थोरै लक्ष्यमा आत्मविश्वासी हुन नसक्नुलाई म्याच एक्स्पोजरको कमीका रुपमा हेरिएको छ । नेपालले युगान्डा सिरिज पछि निकै सुधार गरेको प्रशिक्षक तथा कप्तानको भनाइ छ ।

टिमले खेलाडीको आत्मविश्वास सुधारमा पनि यसपल्ट ध्यान दिएको छ । मनोवैज्ञानिक रुपमा टिम बलियो बनेको दावी कप्तान रुविनाले गरेकी छन् । ‘प्रशिक्षणमा राम्रो गरि रहे पनि खेल्ने दिन मैदानमा खेलाडीले कत्तिको आत्मविश्वासका साथ खेल्छन्, त्यो निकै महत्वपूर्ण हुनेछ’ उनले भनिन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?