+
+

लुम्बिनीका जिल्ला समन्वय समितिमा कांग्रेसको बर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १०:१८
जिसस रुपन्देहीमा निर्वाचित पदाधिकारी र सदस्यहरू ।

५ असार, बुटवल । लुम्बिनी प्रदेशका  १२ वटै जिल्लामा जिल्ला समन्वय समिति (जिसस)को नेतृत्व चयन भएको छ ।

१२ जिल्लामध्ये ६ वटा जिल्लामा प्रमुख र ३ जिल्लामा उपप्रमुख जितेर नेपाली कांग्रेस पहिलो भएको छ । नेकपा एमालेले ४ जिल्लामा प्रमुख र २ जिल्लामा उपप्रमुख जितेर दोस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्रले २ प्रमुख र ५ उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ उपप्रमुख जितेको छ ।

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको उपस्थिति शून्य भएको छ ।

कांग्रेस र सत्ता गठबन्धनभित्रको अन्तरघातका कारण नवलपरासी पश्चिम र कपिलवस्तुलुमा अल्पमतमा रहेको एमालेले जिससको नेतृत्व जित्न सफल भएको छ ।

कांग्रेसले रुपन्देही, दाङ, बाँके, गुल्मी, प्युठान र बर्दियामा जिसस प्रमुख जितेको छ । यस्तै दाङ, बाँके र बर्दियामा उपप्रमुख जितेको छ ।

एमालेले पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुमा प्रमुख जितेको छ भने पाल्पा र अर्घाखाँचीमा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले रोल्पा र रुकुमपूर्वमा प्रमुख जितेको छ । यस्तै रोल्पा, रुकुमपूर्व, गुल्मी, प्युठान र नवलपरासी पश्चिममा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले रोल्पा र रुकुमपूर्वमा गठबन्धन नगरी एक्लै प्रमुख र उपप्रमुख जितेको हो ।

रुपन्देहीमा कांग्रेस, माओवादी र लोसपा गठबन्धनबाट प्रमुखमा कांग्रेसका उमाकान्त चापागाईं र उपप्रमुखमा लोसपाका रामकृपाल धोबी निर्वाचित भएका छन् ।

दाङको जिसस प्रमुखमा कांग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा चेतना चौधरी निर्वाचित भए । कपिलवस्तुको जिसस प्रमुखमा एमालेका बाबुराम आचार्य र उपप्रमुखमा लोसपाका रमेश कुर्मी निर्वाचित भए । यहाँ गोलाप्रथाबाट एमाले विजयी भएको हो ।

त्यस्तै बाँकेको जिसस प्रमुख र उपप्रमुख कांग्रेसका क्रमशः ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख सीता कार्की निर्वाचित भए ।

गुल्मीको जिससमा कांग्रेस र माओवादीको गठबन्धनबाट प्रमुखमा कांग्रेसका द्रोणबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र समाली मगर निर्वाचित भए ।

अर्घाखाँचीको जिसस प्रमुख र उपप्रमुखसहित प्यानलै एमालेले जितेको छ । प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएका छन् ।

जिसस प्यूठानको प्रमुखमा कांग्रेसका धर्मबहादुर जीसी र उपप्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध भएका छन् । पाँच दलीय गठबन्धन भएपछि एमालेले प्यूठानमा उम्मेदवारी नै दिएको थिएन ।

जिसस बर्दियाको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा सूर्यबहादुर विष्ट र उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित भएका छन् ।

नवलपरासी जिसस प्रमुखमा एमालेका रुदल यादव र उपप्रमुखमा माओवादी केन्द्रका रामदयाल चौधरी निर्वाचित भएका छन् । यहाँ कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो ।

पाल्पा जिसस प्रमुखमा एमालेका टंकनाथ खनाल र उपप्रमुखमा एमालेकै काशिका गैरे ज्ञवाली निर्वाचित भएका छन् ।

रोल्पा जिसस प्रमुखमा माओवादीकी सीता आचार्य र उपप्रमुखमा माओवादीकै कर्मलाल परियार निर्वाचित भए ।

जिसस पूर्वीरुकुमको प्रमुखमा माओवादीका मेघबहादुर श्रेष्ठ र उपप्रमुखका माओवादीकै मोहनबहादुर केसी निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?