+
+
विचार :

विवाद छिचोल्दै अघि बढेको ‘कबड्डी ४’

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ असार ५ गते १३:२१

भारतको सिक्किम सरकारले फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिक्किमका बौद्ध धर्मगुरुहरुले ‘कबड्डी ४’माथि धार्मिक अपमानको आरोप लगाएपछि राज्य सरकारले परिस्थितिको आँकलन र नागरिकको संवेदना ख्याल गर्दै फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

सबै धर्मको सम्मान हुनुपर्छ, यो कुरामा ‘कबड्डी ४’को टिम पक्कै स्पष्ट छ होला । कमजोरी छन् भने सुधार गर्ने हिम्मत यो टिमसँग हुनैपर्छ । तर फिल्मको कथा र कलाकारको अभिनय यात्रामा ब्रेक लाग्नु हुँदैन ।

कबड्डी नेपाली मौलिक खेल हो । यो खेलले ऊबेला विशेषगरी ग्रामीण समाजमा राम्रैसँग मनोरञ्जन दिने गर्थ्यो । अहिले ‘कबड्डी ४’ले पनि दर्शकलाई राम्रै मनोरञ्जन दिएको छ ।

कोरोना महामारीका कारण लामो समय सुस्ताएको फिल्म क्षेत्रमा देखिएको एउटा उत्साह बनेको छ, कबड्डी ४ । यो फिल्ममा दर्शकको भीड जम्मा हुनुको कारण यति मात्र भने होइन । यसअघि तीनवटा ‘कबड्डी’ नियालिसकेको दर्शकको कौतुहलताले पनि ‘कबड्डी ४’मा भीड बढेको हुनुपर्छ ।

‘कबड्डी’का तीन चरणसम्म प्रेम र राजनीतिबाट पीडित बनेका काजी (दयाहाङ राई)को लागि ‘कबड्डी ४’ चाहिं एउटा सुखद् यात्रा बनेको छ । काजीले ‘कबड्डी ४’मा अपत्यारिलो ढंगले शान्ति (मिरुना मगर) पाएका छन्, अर्थात् प्रेम पाएका छन् । अब उनले प्रेमको लागि भौतारिनुपर्ने छैन । प्रेममा बमकाजी (सौगात मल्ल) जस्ता अवरोधको डर पनि छैन । अनि काजीका साथीहरु बिके (विजय बराल) र छन्त्याल (बुद्धि तमाङ)लाई पनि काजीको विवाह नहुने चिन्ता हटेको छ ।

‘कबड्डी ४’को एक दृश्यमा अभिनेता दयाहाङ राई

‘कबड्डी ४’ सम्म आइपुग्दा काजीले नचाहँदा नचाहँदै पनि प्रेमले गन्तव्य पहिल्याएको छ । प्रेमबाट भाग्दै गरेका काजीलाई शान्तिले जुन आत्मीयताका साथ पछ्याएकी छन् त्यसले प्रेमको गहनता र आवश्यकतालाई मजबुत बनाएको छ । कथामा नयाँपन नभए पनि प्रेमको आत्मीयता र आवश्यकतालाई निर्देशक रामबाबु गुरुङले बडो कलात्मक ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

सामाजिक हैसियतको हिसाबले काजी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अनि शान्ति त्यही विद्यालयकी शिक्षिका । शान्तिको आत्मीयता र काजीको सुषुप्त प्रेमले काम गरेको थिएन भने पहाडको अप्ठेरो यात्रा तय गर्दै शान्तिको घरसम्म पुग्नुपर्ने आवश्यकता काजीलाई हुँदैन थियो होला । घोडामा सवार शान्तिको यात्रामा काजीले महसुस गरेको खुसी र पसिना तर्काउँदै उकालिएको काजीको पाइलामा शान्तिले महसुस गरेको पीडा सप्तरंगी धर्साहरुमा कोरिएको प्रेमको एउटा तरंगित आकृति भन्दा कम लाग्दैन ।

डिग्री लिएर गाँउमा सम्मान थापेका बमकाजीको कर्तुतले शिक्षाको प्राप्ति आधार र स्तरको मापन आवश्यक हुने कुरा पनि ‘कबड्डी ४’मा सदृश्य प्रस्तुत भएका छन् । मानिसको स्वभावलाई सतही शिक्षाले परिर्वतन गर्न सकिन्न रहेछ भन्ने कुरा बमकाजीको चरित्र मार्फत फिल्ममा देखाउन खोजिएको छ ।

झाँक्रीको व्यवसाय र छन्त्यालको आशंकालाई पनि ‘कबड्डी ४’ले अन्त्य गरिदिएको छ । झाँक्रीको व्यावसायिक स्वीकारोक्तिले छन्त्यालको आशंकालाई अन्त्य गरिदिएपछि एउटा परिवारमा सुखद् यात्राको सुरुवात हुने पक्का भएको छ ।

प्रेममा ठगिएका बिकेलाई काजीको घरमा दिइएको ‘स्पेस’ जातीय छुवाछूत अन्त्यको संकेत मान्न सकिन्छ । तर सहरबजारमै पनि जातीय विभेदकै कारण कोठा नपाएको जस्ता पीडालाई निमिट्यान्न पार्न ‘कबड्डी ४’ सफल होला त ? यो भने सधैं प्रश्नवाचक नै रहने छ । किनभने कानुनले नै निषेध गरेको कुरा त कार्यान्वयन भएको छैन भने एउटा फिल्मको कथाले कसरी तत्कालै परिर्वतन सम्भव होला र !

कबड्डी श्रृङ्खलाको चौथो भागमा शिक्षाको गहनता, जातीय विभेदको अन्त्य, आशंकको परिणाम, ग्रामीण परिवेशको जीवनशैली, प्रकृतिको सुन्दरता जस्ता कुरालाई पनि असाध्य मसिनो ढंगले संवाद र दृश्यबीचको तादम्यता सहित प्रस्तुत गर्ने खुबी रामबाबुले देखाएका छन् ।

मुस्ताङको सुन्दर दृश्यमा अर्गानिक स्याउ उफ ! आफैंमा अलौकिक लाग्छ त्यो दृश्य । कपालमा दुई हातले घर्षण गर्ने दयाहाङको स्टाइल वास्तवमै नाट्य श्रृंखलाको बलियो अभिनय निरन्तरता मान्नुपर्छ ।

मिरुनाको ‘इनोसेन्ट’ चरित्र र अभिनयले साँच्चो प्रेमको व्याख्यालाई सहज बनाइदिएको छ । उनको मुस्कान मुस्ताङको सौन्दर्यसँग ठ्याक्कै मेल खाएको छ ।

अभिनयमा सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ सबै उत्कृष्ट लाग्छन् । कथाको चरित्रलाई आफ्नो अभिनयमा वास्तविकता झल्काउन ‘कबड्डी ४’का सबै पात्रले मेहनत गरेको मान्नुपर्छ ।

‘कबड्डी ४’ अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । यसले समग्रमा नेपाली फिल्मको गुणस्तरीय प्रविधि, कलाकारको उत्कृष्ट अभिनय र गहकिलो संवादको सुखद् यात्राको संकेत र फिल्मको व्यावसायिक सफलताको शुभ समाचार दिन खोजेको छ ।

बौद्ध धर्मसँग जोडिएर आएको विवाद तथा मिरुनासँग जोडिएका केही घटनाले ‘कबड्डी ४’को उकालिंदो यात्रामा थोरै अवरोध भएको छ । फेरि पनि कलाकार, कथा, पटकथा, निर्देशन, दृश्य, संवाद आदिका जोडले ती अवरोध यात्राकै क्रममा छिचोलिएको छ । यात्रालाई अनवरत अगाडि बढाउनु ‘कबड्डी ४’ टिमको जिम्मेवारी हो । अनि, धर्म जस्तो संवेदनशील विषयमा लागेको आरोप खण्डन गर्नु र कमजोरी सुधार गरेर अगाडि बढ्नु ‘कबड्डी ४’ टिमको दायित्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?