+
+
Shares

अपी पावरले क्षमता बढाउँदै, आपूर्ति तथा जडान कार्यको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपि पावर कम्पनीले लमजुङको बेसीसहरमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति सम्झौता गरेको छ।
  • ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति, जडान र परीक्षण कार्य दुई वर्षभित्र पूरा गर्ने जिम्मेवारी दिइएको छ।
  • आयोजनाको लगानी करिब १० अर्ब रुपैयाँ हुनेछ र उत्पादन विद्युत् उदिपुर सबस्टेशनमा जोडिनेछ।

२७ कात्तिक, काठमाडौं । अपी पावर कम्पनीले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने भएको छ । योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता भएको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ।

उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । ट्रोयरका लागि यो आयोजना नेपालमा जडान हुने सबैभन्दा ठूलो फ्रान्सिस टर्बाइन मध्ये एक रहेको कम्पनीले जनाएको छ ।

हाल नेपालमा ट्रोयरले आपूर्ति गरेको सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यस्तै मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम चरणको जडान तथा परीक्षणको प्रक्रियामा रहेका छन् ।

यसबाहेक, ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) जस्ता आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ।

नेपालमा दीर्घकालीन सेवा र प्राविधिक सहयोग सुदृढ गर्न ट्रोयरले हालै काठमाडौंमा वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको समेत जनाएको छ । जसले आयोजनालाई समयमै सहयोग र मर्मत–सम्भार सेवा उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत उत्पादन गर्न सक्षम हुने अवस्थामा ल्याउनेछ । सम्झौता कार्यान्वयनपछि आयोजना विद्युत् उत्पादनका लागि तयार अवस्थामा पुग्ने छ ।

लगानी करिब १० अर्ब रुपैयाँ अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट हुनेछ । आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । यसअघि, अपी पावर कम्पनीले दिव्यज्योति हाइड्रोपावर (मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना प्रबर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो । आर्थिक र प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएका कारण उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपी पावर कम्पनको बहुमत स्वामित्वमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?