+
+
Shares
योगेन्द्र मण्डल वार्ता :

‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ–५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले ९० प्रतिशत मतदाताको सुझावपछि 'राष्ट्रिय ऊर्जाशील पार्टी' दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
  • मण्डलले नयाँ पार्टीको मूल सिद्धान्त 'नेपालवाद' हुने र यसले संविधानसम्मत लोकतान्त्रिक नीति र व्यवहार अपनाउने बताए।
  • उनले समानुपातिक सांसदमा नेताका तीन पुस्तासम्म र श्रीमतीलाई नाम चढाउन नपाइने विधान बनाउने योजना रहेको खुलाए।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य दुई शक्ति आमनेसामने थिए। तत्कालीन सरकारपक्षीय दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन एकातिर थियो भने नेकपा एमाले र केही साना दलको अर्कोतिर थिए। अधिकांश निर्वाचन क्षेत्रमा यिनै मध्ये कुनै पक्षका उम्मेदवारको जितको बलियो आधार देखिन्थ्यो। तर, मोरङ– ५ का मतदाताले त्यो आधार भत्काइदिए र स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डललाई प्रतिनिधिसभामा आफ्नो प्रतिनिधि रोजे।

मतदाताले मण्डललाई रोज्नुको पछाडि २५ वर्षदेखि जनताकोबीचमा रहेर उनले गरिरहेको कामको ठूलो योगदान थियो। उनले २०५४ सालमा मोरङको अमाहीवरियाती गाउँबाट थालेको जीवन विकास समाज नामको संस्था सुरु गरेका थिए। त्यसोत: २०७९ मा उनी नेकपा एमालेका तर्फबाट टिकटको आकांक्षी थिए। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका मण्डल अब आफ्नै पार्टी निर्माणमा जुटेका छन्। स्वतन्त्र सांसदका रूपमा करिब तीन वर्ष बिताएका मण्डलले पार्टी खोल्नुअघि आफ्ना मतदातासँग सल्लाह मागेका थिए। ९० प्रतिशत मतदाताले पार्टी खोल्न सुझाव दिएपछि तयारीमा जुटेको बताउने मण्डलले निर्वाचन आयोगमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ताको लागि निवेदन दिएका छन्। तिनै योगेन्द्र मण्डलसँग अनलाइनखबरकर्मी हरि अधिकारीले कुराकानी :

स्वतन्त्र उम्मेदवार हुँदै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो। अहिले पार्टी खोल्ने निर्णयमा कसरी पुग्नुभयो ?

यो एक जनाले गरेर हुने काम होइन, म प्रतिनिधि मात्रै हो। मोरङ क्षेत्र नम्बर ५ का जनतासँग सल्लाह गरें। मलाई ९० प्रतिशत भन्दा बढी मतदाताले नयाँ पार्टी दर्ता गरेर जानुपर्छ भन्ने सुझाव दिनुभयो। देशभरबाट लोकतान्त्रिक पार्टी चाहिन्छ भन्दै मलाई प्रस्ताव गर्नुभयो। म प्रतिनिधि बनेर अगाडि आएँ। देशभरबाट वास्तविक लोकतान्त्रिक पार्टी खोलेर जानुपर्छ भन्ने सल्लाह थियो।

पार्टी खोल्ने ‘ट्रेन्ड’ नै चलेको छ, तपाईंको पार्टी अरूभन्दा कसरी फरक होला ?

संवैधानिक र कानुनी रूपमा सबै दल समान हुन्छन्। नियत, नीति र व्यवहारमा फरक हुने हुन्। हाम्रो पार्टीको नियत फरक हुन्छ। नीति फरक हुन्छ र व्यवहार पनि फरक हुन्छ। हाम्रो नियत देश र जनताप्रति समर्पित हुनेछ। राजनीति काम होइन, सेवा हो भन्ने हाम्रो बुझाइ छ। हामी सार्वभौमसत्ता र स्वाभिमानको कुरामा अटल रहन्छौं। हाम्रो नीति संविधानसम्मत हुन्छ र आवश्यकता अनुसार परिवर्तन हुन्छ। यो पार्टी सबैको लागि हो। युवा, मध्यम उमेरका र बुढापाका। जो देश र जनताप्रति उत्तरदायी छन्, स्वार्थ छैन, ती सबै यस पार्टीमा जोडिनु हुनेछ। हामी व्यावहारिक रूपमा लोकतान्त्रिक पार्टी बनाउँछौं।

अहिलेका दलहरू लोकतान्त्रिक छैनन् र नयाँ दलको आवश्यकता पर्‍यो ?

नेपालका पार्टी लोकतान्त्रिक छैनन्। नाममा लोकतान्त्रिक लेखेर मात्र हुँदैन। व्यवहारमा लोकतान्त्रिक छैनन्। ती सबै एक व्यक्तिवादी पार्टी हुन्। अध्यक्षले कुनै निर्णय गरेपछि सदस्यले बाध्य भएर त्यसको साथ दिनुपर्छ, चाहे त्यो गलत नै किन नहोस्। त्यहाँ बोल्ने र कुरा राख्ने छुट हुँदैन। यो कसरी लोकतान्त्रिक भयो? लोकतान्त्रिक हुनका लागि सबैको राय समेटिनुपर्छ। त्यसैले हामीले सबैको भावना समेट्ने पार्टी बनाउन खोजेका हौं। हामी लोकतान्त्रिक पार्टी वैधानिक रूपमा बनाउने छौं। लोकतान्त्रिक अभियान, लोकतान्त्रिक नीति अथवा लोकतान्त्रिक सिद्धान्त भनेको सबै वर्ग र समूहको ‘इन्भल्भमेन्ट’ हो।

नेपालका दलभित्र लोकतन्त्र छैन। व्यक्तिवाद हावी छ, जसका कारण जनता र कार्यकर्ता निरिह बनेका छन्।

नेपालको संविधानमा समानुपातिक सांसदको व्यवस्था छ। समानुपातिक सांसद राख्नुको मर्म के हो भने, प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने, छुटेका समुदायहरूलाई अर्को माध्यमबाट सदनमा ल्याउनू। जनसंख्याको आधारमा, वर्गको आधारमा, आर्थिक अवस्थाको आधारमा जो छुट्यो, जो सदनमा आउन सकेन, नीति बनाउने ठाउँमा आउन सकेन, उसलाई चाहिँ समानुपातिक विधिबाट त्यहाँ सहभागी गराउने हो। तर संविधानको मर्म एकातर्फ र व्यवहार अर्काेतर्फ। नेपालको राजनीतिमा समानुपातिकको व्यवहार हेर्नुस्। उद्योगपतिहरू, नेताका श्रीमतीहरू समानुपातिक सांसद बनेर आएका छन्। यो किन भयो भने संविधानको मर्मलाई पार्टीले बुझेनन्।

तपाईंहरूको पार्टीले चाहिँ संविधानका मर्मलाई कसरी सम्बोधन गर्छ ?

हाम्रो पार्टी संविधानको मर्म अनुसार अघि बढ्छ। यसका लागि हामी केही वैधानिक व्यवस्था गर्छौं। उदाहरणका लागि, हाम्रो पार्टीमा कुनै पनि नेताका अध्यक्षको तीन पुस्तेसम्म समानुपातिकमा नाम चढाउन पाउँदैनन्। केन्द्रीय सदस्यका श्रीमतीहरूले नाम चढाउन पाउँदैनन्। सांसदमा लडेका अथवा कुनै पदमा लड्नेहरूले पाउँदैनन्। समानुपातिकमा को आउँछ भन्ने हाम्रो पार्टीको विधानमा स्पष्ट हुनेछ। एक नम्बरमा दलित, दलित पनि एकदमै सीमान्तकृत दलित। उदारणका लागि भोटको अनुपातमा तराईबाट दुइटा समानुपातिक सिट आयो भने तराईका सबैभन्दा सीमान्तकृत दलितबाट प्रतिनिधि आउँछन्। यसका लागि हामीले निश्चित मापदण्ड राख्छौं। महिलाका लागि कम्तीमा प्लस टु पास गरेको र पुरुषका लागि स्नातक पास गरेको हुनुपर्छ। यसरी आउने व्यक्तिले सदनमा गएर आफ्नो समुदायको प्रतिनिधित्व गर्दै उनीहरूको उत्थानका लागि आवश्यक कानुन निर्माणमा भूमिका खेल्न सकोस्।

शासकीय स्वरुप कस्तो परिकल्पना गरेको छ यहाँको प्रस्तावित पार्टीले ?

हाम्रो पार्टीले संविधानमा भएको लोकतान्त्रिक व्यवस्थालाई व्यवहारमा लागू गर्ने हो। जनताका माग जो संविधानमा छैनन्, त्यसलाई संशोधनमा राख्ने हो। संविधानले परिकल्पना गरेका लोकतान्त्रिक व्यवस्थालाई व्यवहारमा लागू गर्ने हो। शासकीय स्वरूपको विषयमा मैले एक्लै बोलेर हुँदैन। हाम्रो पार्टीले शासकीय स्वरूपको बारेमा राष्ट्रियस्तरमै छलफल गर्छ। चाडै घोषणासभा गर्छौं। अतिविपन्न र पिछडिएको समुदाय ऋषिदेव बस्तीमा। जनतालाई कस्तो शासकीय स्वरूप चाहिएको हो, कारणसहित भन्न लगाउँछौं । बढीभन्दा बढी मान्छेहरूको भिजन आओस् भन्ने चाहन्छौं, ताकि उहाँहरूको राम्रो सल्लाहलाई हाम्रो टिमले ग्रहण गर्न सकोस्।

कांग्रेस, कम्युनिष्ट सबैका सिद्धान्त फेल भइसके। त्यसैले माटो सुहाउँदो ‘नेपालवाद’को सिद्धान्त बोकेर हामी आउँदैछौं।

अहिले प्रदेश संरचना बोझ भयो भन्ने प्रश्न उठिरहेको छ नि, जनताका गुनासा पनि सुनिन्छन् ?

कुनै पनि संरचना आफैंमा नराम्रा हुँदैनन्। संरचनाको सदुपयोग भएन भने मात्र नराम्रो हुन्छ। धेरै संरचनाहरू बनाउँदा रोजगारी सिर्जना हुन्छ र सेवा प्रवाह राम्रो हुन्छ। हाम्रो ‘जीवन विकास’ (समाज)ले धेरै संरचना खडा गरेर हजारौंलाई रोजगारी दिएको छ र समाजलाई सेवा पुर्‍याएको छ। जस्तै, लघुवित्त, विद्यालय, अस्पताल कृषि वातावरण आदि क्षेत्रमा। राज्य सञ्चालनमा पनि यही कुरा लागू हुन्छ। यदि राम्रो नियत र नेतृत्व छ भने जति धेरै संरचना बनायो, त्यति राम्रो हुन्छ। राम्रो बनाउन सकिन्छ।

तपाईंहरूको पार्टीको मूल सिद्धान्त के हुन्छ ?

हाम्रो पार्टीको मूल सिद्धान्त ‘नेपालवाद’ हुनेछ। संसारमा जति पनि सिद्धान्तहरू छन्, ती सबै हाम्रो पार्टीका लागि ‘रिफरेन्स’ हुन्छन्। हामी कसैको पनि सिद्धान्तलाई जस्ताको तस्तै मान्दैनौं, किनभने ती सिद्धान्त बनेका बेलाको समय, परिस्थिति, स्रोत–साधन अहिले फरक छ। माओवादीले माओको सिद्धान्त लिइरहेको छ, एमालेले मार्क्सवादी लेनिनवादी सिद्धान्त। तर ती सबै फेल भइसकेका छन्।

संविधानमा उल्लेख लोकतान्त्रिक व्यवस्थालाई व्यवहारमा लागू गर्नु हाम्रो पार्टीको मुख्य लक्ष्य हुनेछ।

बीपीको कृषिमा आधारित सिद्धान्त पनि अहिलेको युगमा पर्याप्त छैन। हामी बीपीबाट कृषिलाई छोड्नु हुँदैन भन्ने सिक्छौं, तर कृषि मात्रै आधार बनाउँदैनौं। हामी संसारका उत्कृष्ट अभ्यास र उत्कृष्ट सिद्धान्तलाई रिफरेन्स लिन्छौं। हाम्रो पथ चाहिँ नेपाली हुन्छ। हाम्रो सिद्धान्त नेपालीको क्षमतामा आधारित ‘नेपालवाद’ हुन्छ। जसरी बुद्ध धर्म नेपालबाट संसारभर फैलियो, त्यसरी नै हामी नेपालको मौलिक सिद्धान्त विकास गर्छौं।

दलहरूका सिद्धान्त फेल भइसकेका छन् भन्नुभयो। अब पुराना दलहरूको औचित्य सकियो भन्न खोज्नुभएको हो?

नेपालको राजनीति न सिद्धान्तमा टिकेको छ, न आदर्श व्यवहारमा। यो व्यक्तिमा टिकेको छ। व्यक्तिलाई फाइदा भयो भने ठीक, नभए बेठीक। त्यसैले नेपालमा कुनै पनि पार्टीको औचित्य कहिल्यै सकिँदैन, किनभने नेपालीले सही के र गलत के छुट्याउने कोसिस नै गर्दैनन्। असफलता मतपत्रबाट नभई व्यवहारबाट आउँछ। जेनजी आन्दोलन हेर्दा सुरुमा जेनजीले गरेको देखियो। तर, त्यसको नतिजा हेर्ने हो भने, ओली हटेर सुशील कार्की आइन्। प्रवृत्ति फेरिएन। भ्रष्टाचार नियन्त्रण हुनुको साटो झन् बढ्यो। व्यक्ति परिवर्तन भए प्रवृत्ति उस्तै छ। शहीदहरूले देशको लागि जीवन दिएका थिए। तर, अहिले देशभन्दा जीवन ठूलो भन्ने कुरा आयो।

सामाजिक सेवा र राजनीतिलाई कसरी हेर्नुभएको छ ?

राजनीति पनि समाजसेवा जस्तै एउटा सेवा हो। सफल र असफल भन्ने कुरा मेरो लागि त्यति महत्व राख्दैन। म काम गर्ने मान्छे हुँ। राम्रो नियतले राम्रो काम गर्दै जाने हो। कहिले परिणाम राम्रो आउला, कहिले राम्रो हुँदाहुँदै पनि बिग्रिन सक्छ। यो महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा राम्रो नियतले निरन्तर काम गर्नु हो। मैले केही गर्न सकें भने संस्थागत रूपमा राजनीतिक रूपमा पनि केही गरौं भन्ने लालसा छ। यसको मूल्यांकन मैले होइन, आउने दिनमा जनता र देशले गर्छन्। २०५४ सालमा जीवन विकास समाज स्थापना गर्दा यसले के गर्छ भन्ने थियो। यो २८ वर्षमा जीवन विकासले विभिन्न क्षेत्रमा काम गरेको छ। जीवन विकासले मेहनत गर्न सिकाएको छ। राम्रो नियतले जनताको काम गर्दै जाने हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?