२७ कात्तिक, धनगढी । नेकपा एमालेका नेता खगराज अधिकारीले अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनेमा कुनै शंका नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको बताएका हुन् ।
उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए । ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेसा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालले वर्तमान नेतृत्वलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन’, अधिकारीले भने, ‘त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन् । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।’
असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको दाबी गर्दै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गरे ।
ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भएपनि त्यसतर्फ ध्यान नदिइएको बताए ।
अहिलको अवस्थामा पनि नेकपा एमाले डराएर नभएर आउनै पर्ने अवस्था सिर्जना भएपछि सडकमा आएका उनको भनाइ छ ।
एमाले छाडेर मातृभूमि अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि पनि एमालेले कुनै क्षति व्यहोर्नु नपर्ने उनले दाबी गरे ।
सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक भएको उनले बताए ।
असंवैधानिक बाटोबाट संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधिश प्रधानमन्त्री बनेर युवाका माग हाइज्याक र मुलुकलाई कमजोर बनाउने खेल भएको अधिकारीले बताए ।
प्रतिक्रिया 4