+
+

कम्बोडियाको नदीमा भेटियो संसारकै ठूलो माछा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १२:५२

काठमाडौं । कम्बोडियास्थित मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ । नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ ।

यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो ।

यद्यपि विश्वमा ताजा पानी (फ्रेस वाटर) मा पाइने सबैभन्दा ठूलो माछाको आधिकारिक डाटाबेस भने राख्ने गरिएको छैन ।

एसियाको अन्तर्राष्ट्रिय नदी भनिने मेकङ माछाको जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिन्छ । तर अत्यधिक रुपमा माछा मारिने, जलप्रदूषण उच्च हुनु तथा बाँधहरुका कारण उक्त नदीमा माछाको पर्यावरण चक्र संकटमा परेको छ ।

तिब्बतबाट सुरु भएको मेकङ नदी चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया तथा भियतनाम हुँदै बग्दछ ।

मेकङ नदीमा माछाको विषयमा पछिल्लो २० वर्षसम्म अध्ययन गर्दै आएका जीव वैज्ञानिक जेब होगानका अनुसार कम्बोडियामा फेला परेको ३ सय किलो तौलको माछा हालसम्म पृथ्वीका नदी, ताल आदि ताजा पानीका स्रोतहरुमा पाइएको सबैभन्दा ठूलो माछा हो ।

गत जुन १३ मा कम्बोडियाको कोह प्रेह टापुस्थित एक स्थानीय माझीले ३.९८ मिटर लामो र २.२ मिटर चौडा माछा समाएको भनेर शोधकर्ताहरुलाई खबर गरेका थिए । त्यसपछि शोधकर्ताहरुले उक्त माछाको नापजाँच गरे । जसबाट सो माछाको तौल ३ सय केजी पाइयो । उनीहरुले उक्त माछाको भावी गतिविधि अध्ययन गर्नका लागि ट्याग लगाएर नदीमा पुनः छाडेका छन् ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?