News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि सकिएर बसिरहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ ।
- कम्बोडिया सरकारले भिसा शुल्क र जरिवाना मिनाहा गरे पनि ती नेपालीले स्वदेश फर्किन चासो नदेखाएको दूतावासले जनाएको छ ।
- तोकिएको समयभित्र नफर्किए नयाँ कानून अनुसार ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावास हुनसक्ने चेतावनी दिइएको छ ।
२४ जेठ, काठमाडौं । भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी त्यहीँ बस्दै आएका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले एक सूचना जारी गरी त्यस्ता नेपालीलाई तत्काल स्वदेश फर्किन भनेको हो ।
विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरिएको थियो ।
ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा ६६ जना नेपालीहरू स्वदेश फर्किन तदारूकता नदेखाएकोले सूचना जारी गरिएको दूतावासले जनाएको छ।
तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूउपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानुन अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार पाँचलाख अमेरिकी डलर सम्मको जरिवानाका साथै आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ ।
‘सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘साथै, उहाँहरूका परिवारजन तथा आफन्तजनहरूमा समेत यसै सूचनालाई आधारमानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’
यस्तो छ दूतावासको सूचना

प्रतिक्रिया 4