+
+

देशव्यापी अन्तर वडा टेबलटेनिस भदौमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १३:४८

९ असार, काठमाडौं । नेपाल स्पिन इभेन्ट प्रालिले आयोजना गर्ने देशव्यापी अन्तरवडा टेवलटेनिस प्रतियोगिताको दोस्रो संस्करण आगामी भदौ २१ देखि २५ गतेसम्म हुने भएको छ ।

देशभरबाट वडा स्तरका टोलीहरु सहभागिता गराउने लक्ष्य राखिएको प्रतियोगितालाई समाजसेवी पूर्णशंकर श्रेष्ठले मुख्य प्रायोजन गरेका छन् । १५ लाख अनुमानित बजेटको आधा रकम श्रेष्ठले स्पिन इभेन्टलाई उपलब्ध गराउनेछन् ।

श्रेष्ठ र स्पिन इभेन्टका सुमन शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि मुख्य प्रायोजक श्रेष्ठले खेलाडीको सहयोगका लागि वडास्तरीय प्रतियोगिताका लागि सहयोग गरेको बताए । आफ्नो सहयोगले टेवलटेनिस खेलमा युवा पुस्तालाई प्ररणा मिल्ने अपेक्षा श्रेष्ठले गरेका छन् ।

यो प्रतियोगितामा राष्ट्रिय वरीयताका आधारमा पुरुष र महिलातर्फ शीर्ष १६औं स्थानसम्मका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । आयोजकले नयाँ प्रतिभाका लागि यस्ता प्रतियोगिता अवसर बन्ने विश्वास लिएका छन् ।

देशव्यापी अन्तर वडा प्रतियोगिता भनिए पनि गत वर्ष आयोजित प्रथम संस्करणमा ४४३ वडाबाट खेलाडीहरु सहभागी भएका थिए । आयोजकले यसपल्ट सहभागी वडा संख्या बढ्ने अनुमान गरेका छन् । टेवलटेनिस लोकप्रिय भएका जिल्लाबाट नेपाल टेवलटेनिस संघको टेक्निकल कमिटीले पत्राचार गरेका वडाहरुलाई सहभागी गराइने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, भेट्रान्स पुरुष एकल (४० वर्षमाथि), भेट्रान्स पुरुष एकल (५० वर्षमाथि) र भेट्रान्स पुरुष एकल (६० वर्षमाथि) गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ । पहिलो संस्करणको तुलनामा एक विधा थपिएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ३० हजार रहेको छ ।

पुरुष र महिला एकल विधामा स्वर्ण र रजत जित्ने खेलाडीले क्रमसः ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दुई सेमिफाइनलिष्टले जनही ७ हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।

भेट्रान्सतर्फ दुवै विधामा स्वर्ण र रजत विजेताले क्रमस : १० हजार र ५ हजार तथा दुई सेमिफाइनलिष्टले जनही २ हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।

टिम स्पर्धामा पदक तालिकामा शीर्ष स्थानमा रहने वडाले ५० हजार रुपैयाँ पुरस्कार र रनिङ शिल्ड पुरस्कार पाउनेछन् ।

स्पिन इभेन्टले आयोजना गर्न लागेको यो सातौं टेवलटेनिस प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?