+
+

एमालेले आफ्नो बहुमत भएका ३ पालिकामा रोक्यो बजेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते २१:३३
जीतपुरसिमराको नगरसभा हुने हलमा होहल्ला भएपछि सुरक्षाका लागि प्रहरी नै पुगे ।

१० असार, काठमाडौं । नगरसभामा नेकपा एमालेको बहुमत भएको एक महानगरपालिका, दुई उपमहानगरपालिका र एक नगरपालिकामा अवरोध भएको छ । यद्यपी अवरोध भएको पोखरा महानगरपालिकामा शुक्रबार बेलुकी सहमति गरेर बजेट प्रस्तुत भयो भने अन्य ३ पालिकामा एमालेकै कारण नगरसभा नै स्थगित भयो ।

हेटौंडा उपमहानगरपालिकामा पनि एमालेका नगरसभा सदस्यहरु बैठकमा नै नगएपछि नगरसभा स्थगित भएको छ । आवश्यक गणपूरक संख्याको अभावमा शुक्रबारको नगरसभा स्थगित भएको नगरप्रमुख मीना कुमारी लामाले बताइन् । ९५ जना सदस्य रहेको नगर सभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् ।

गणपूरक संख्याको अभावमा नगरसभा हुन नसकेको भन्दै लामाले असार १२ गतेलाई नयाँ मिति तोकेकी छिन् ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यको असहमतिका बीच नगर कार्यपालिकाको अल्पमतबाटै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो ।

हेटौंडासँगै जोडिएको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा पनि स्थगित भएको छ । १ सय २५ जना नगरसभा सदस्य रहेकोमा शुक्रबार डाकिएको नगरसभामा ४५ जना मात्रै उपस्थित भएका थिए । जीतपुरको बकुलिया माविको सभाकक्षमा एमालेका तर्फबाट निर्वाचित उपप्रमुख भोला अधिकारी सहित पुगेका एमालेतर्फका कार्यपालिका सदस्यहरुले होहल्ला गरेका थिए ।

‘एमालेतर्फका जनप्रतिनिधि ढिलो आउनुभयो, आएपछि पनि शान्तसँग बस्नुभएन, हो–हल्ला गर्न थाल्नुभयो, वडा अध्यक्षले आसेपासे समेत लिएर आउनुभयो, कुर्सीमा लात हान्नेसम्मको क्रियाकलाप भयो’, प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले भने ‘नगरसभामा आएर पनि उपस्थितिमा हस्ताक्षर गर्नुभएन, त्यसैले गर्दा गणपुरक संख्या पुगेन ।’ गणपुरक संख्या नपुगेकोले नगरसभा स्थगित गर्नुपरेको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

नीति, कार्यक्रम तथा बजेटमा मेयर पौडेलले मनपरी ढंगले वडाका लागि बजेट विनियोजन गरेको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले उपप्रमुख भोला अधिकारीले तयारी गर्नुपर्ने कुराहरु नगरिएकोले कार्यसम्पादन गर्न समस्या भएको बताए ।

विदुरमा कार्यपालिका माइन्युट च्यातियो

नुवाकोटको विदुर नगरपालिकामा पनि गणपुरक सदस्य नपुगेको भन्दै नगरसभा स्थगित भएको छ । एमालेका नगरसभा सदस्यको बहुमत रहेको विदुरमा नीति तथा कार्यक्रम कार्यपालिका सदस्यलाई नदेखाई बजेट ल्याउन खोजेको भन्दै एमालेले अवरोध गरेका थियो ।

विदुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीका अनुसार बिहीबार भएको कार्यपालिका बैठकको माइन्युट पनि च्यातेका थिए । मरासिनीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराउँदै भनेका छन्,् ‘९ गते विदुर नगरपालिकाको कार्यपालिका बैठकबाट पारित वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी निर्णय पुस्तिका ४ नम्बर वडाध्यक्ष निलमबाबु ढुंगेलले नगरपालिकाका शाखा अधिकृत रामहरि खनालले निर्णयको फोटोकपी गर्ने क्रममा खोसेर च्यातिदिएको हुँदा असार १० गते हुने भनिएको नगर सभा स्थगित गरिएको छ ।’

यस्तै नगर प्रमुख राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई निलम बाबु ढुंगेललाई कारबाही गर्न पत्र लेखका छन् ।

विदुर नगरपालिकाका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु पनि जानकारी नै नदिइ नगरसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेकोले विवाद सिर्जना भएको बताउँछन् ।

एमालेबाट निर्वाचित वडाध्यक्ष लेलिन रञ्जितले अनलाइनखबरसँग भने, ‘हिजो भएको कार्यपालिका बैठकले नगरसभामा नीति तथा कार्यक्रम पेश गर्ने भनेर लेखिएको माइन्युट रहेछ । जबकी त्यो बैठकमा पहिले नीति कार्यक्रम हेर्न दिने अनि छलफल गरेर मात्रै पास गर्ने निष्कर्ष थियो । तर माइन्युटमा फरक कुरा भएपछि त्यहाँ हुलहुज्जत हुँदा माइन्युट च्यातिएको होला ।’

उनले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले झुक्याउन खोजेपछि यस्तो अवस्था आएको बताए । २३ जना कार्यपालिका सदस्य मध्ये विदुरमा १४ जना एमालेका छन् । विदुरमा मेयर कांग्रेस, उपमेयर माओवादीले जितेको छ । अर्को नगरसभा १४ गतेका लागि बोलाइएको छ ।

माफी मागेपछि आयो पोखरामा बजेट

पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेर रातो किताब समेत च्यातेपछि शुक्रबार दिउँसो दिनभरी विवाद भएको थियो ।

पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका थिए । एमालेका प्रतिनिधि र महानगर प्रमुख, उपप्रमुख बीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी मात्रै प्रस्तुत भएको थियो ।

स्रोतका अनुसार वार्तामा महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेका थिए भने रातो किताब पुनः छाप्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?