+
+
व्यङ्ग्य :

घन्ट र घण्टाकर्ण !

जान्नेलाई त छान्ने तर प्रश्न उठ्छ यहाँ को जान्ने ? उसो भए आफूलाई मान्ने मात्रै जान्ने अनि अरूलाई ढुङ्गाले हान्ने ? समाज बुझेका, देखेकाहरूलाई पनि मान्न तयार हुनुपर्‍यो।

विष्णु जोशी/श्याम गैरे विष्णु जोशी/श्याम गैरे
२०७९ असार ११ गते १८:१५

रात्रिको समय ११:५९ बजे मेरो मनमा धेरै घण्टी बजे। चाँडै १२ बज्दैछ। के अब देशमा पनि भ्रष्टाचार र कुशासनको १२ बज्ला ? भ्रष्टाचारीको १२ मात्रै बजेर पुग्दैन। एक, दुई बजेका घण्टा बज्दै सुशासन र समृद्धिको नवबिहानीको स्वागतमा प्रातः आरतीको घण्टी पनि त सुनिनु पर्‍यो। के घण्टाघरको घण्टको आवाज टुँडिखेलको खुलामञ्च हुँदै शहीद गेटमा ठोक्किएर मार्ग परिवर्तन गरी सिंहदरबारसम्मै पुग्ला ?

घण्टाको चिन्तनले मलाई बालापनका मधुर स्मृतिमा पुर्‍यायो ! तातो आलु खेल्दा मेरो आफ्नै हातमा बल पर्ने बित्तिकै रोकिएको घण्टी। परीक्षामा पास बनाइदेऊ न है भन्दै मन्दिरमा बजाएको घण्टी। परीक्षा सकिन १५ मिनेट बाँकी रहँदा मुटुको धड्कनको रफ्तार बढाउने घण्टी। हाजिरजवाफ प्रतियोगितामा सही उत्तर दिंदादिंदै बजेको घण्टी, अन्तिम पिरियडमा सरले होमवर्क नगरेर कक्षामा पिट्दापिट्दै पाले दाइले बजाएको घण्टी, बिहानै मोबाइलको अलार्मको घण्टी इत्यादि खाले घण्टी बजे मेरो मनमा। यिनीहरूको बज्ने तौरतरिका र बज्दा दिने सङ्केतहरू भने नितान्त भिन्न भिन्न थिए।

हरिवंश पुराण पञ्चम् स्कन्धमा वर्णित कथाका अनुसार घण्टाकर्ण नामका दैत्य भगवान् शिवका अनन्य भक्त थिए। तर उनको अहम् केन्द्रित स्वभाव र शिवजीप्रतिको अन्धभक्तिको कारणले अरू देवताको नाम र बखान पनि उनी सुन्न चाहँदैनथे। त्यसैले उनले आफ्ना दुवै कानमा घण्ट धारण गरेका थिए। मैले जाने सुनेको नै एक मात्र सत्य हो। अरू सब षड्यन्त्र हुन् भन्ने विचार ‘घण्टाकर्ण’ प्रवृत्ति हो र त्यो घण्टाकर्ण म पनि हुन सक्छु अनि तपाईँ पनि हुन सक्नुहुन्छ, होइन र ? प्रश्न यो हैन कि घण्टाकर्ण किन जन्मिन्छन्? तर प्रश्न यस्ता पात्र तथा प्रवृत्तिले समाजलाई कतातिर डोर्‍याउँछ भन्ने हो।

कमलपित्त लागेको बिरामीले सबैतिर पहेंलो र साउनमा आँखा फुटेको गोरुले सबै हरियो देख्नु स्वाभाविक नै हो। सूर्यको एक प्रकाशले आकाशको क्यानभासमा कोर्दा इन्द्रेणीका सात रङ्ग दृष्टि गोचर हुन्छन्। एकमा अनेक र अनेकमा एक सृष्टिको सौन्दर्य हो तर त्यो देख्न फराकिलो दृष्टि चाहिन्छ ! यो सामग्री आलोचना भन्दा आत्मालोचना गर्ने प्रयोजनको लागि लेखिएको हो।

नेपाली राजनीतिमा र तपाईँ हामीमाझ पनि यस्ता घण्टाकर्णहरू छ्यापछ्याप्ती छन्। त्यो चाहे मूलधारको राजनीतिमा होस् या त वैकल्पिक राजनीति नै किन नहोस्। तर दुर्भाग्य एउटा घण्टाकर्णले अर्को घण्टाकर्ण देख्छ तर आफ्नै कानमा झुन्डिएका घण्ट देख्दैन ! केही छिटपुट कानका घण्टा विसर्जन गरी आँखाका पट्टी खोलेका सचेत नागरिक पनि छन् तर ती मौन।

घण्टाकर्णहरूलाई सम्झाउने जागरण अभियान त चलाउने तर पहिले त्यो बिरालोको घाँटीमा घण्टा कसले झुन्डाउने ? यो बडा मुस्किल काम हो।

अब घण्टीका केही फाइदाहरूको पनि चर्चा गरौँ। भनिन्छ- घण्टीको ध्वनिबाट एक तरङ्ग निस्कन्छ। जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकरूपता ल्याउँदछ मनको एकाग्रता बढाउँछ। घण्टी बजेपछि त्यसले एक तीखो तर टिकाउ ध्वनि निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेन्डसम्म गुन्जिरहन्छ।

शास्त्रहरूमा यसले मानिसको शरीरमा हुने ७ वटै चक्रहरूमा तरङ्ग पैदा गरी मूलधार जागरणमा समेत मद्दत गर्ने प्रसंग उल्लेख छन्। फलस्वरूप हाम्रो दिमागको एकाग्रता बढी मनमा शान्तिको प्रादुर्भाव हुन्छ। तर दीर्घकालीन आत्मिक शान्तिको लागि बाह्य ध्वनि भन्दा पनि अन्तर्ध्वनि सुन्न सक्ने क्षमता विकसित हुनुपर्छ।

तर यसको विपरीत घण्टीको सात सेकेन्ड गुञ्जायमानले ल्याएको आनन्दसँगै बुद्धि विकासलाई घण्टाकर्णको निमेषले पनि समाजको एकाग्रता भङ्ग गर्न सक्छ भन्ने कुरासँगै क्षणिक लोकरिझ्याईवादको दुष्चक्रमा परेका सबैले बुझ्न जरुरी छ। भीडभाड माझ सबैभन्दा चर्को स्वर मात्रै सुनिएला तर सबैभन्दा चर्को स्वर नै सत्य हो भन्ने घण्टाकर्ण प्रवृत्ति हो।

प्रारम्भमा घण्टाको आहतले मात्रै तरङ्गित हुने कानहरू अन्ततः अन्तस्करणको अनाहत नाद सुन्न सक्ने बन्नुपर्छ। त्यसरी नै केही पत्रकार या अभियन्ताको चिच्याहटले प्रारम्भमा केही तरङ्ग ल्याउला तर समग्र मुलुककै रूपान्तरण हुन आम जनता गाउँगाउँबाट उठ्नैपर्छ। परिवर्तनको शङ्खघोष सुन्न सबैले घण्ट मात्रै उठाएर पुग्दैन। कसैले कलम चलाउनु पर्‍यो त कसैले हँसिया हथौडा समाउनु पर्‍यो ! लौरी टेकेरै भए पनि सबैले साथ दिनुपर्‍यो !

जान्नेलाई त छान्ने तर प्रश्न उठ्छ यहाँ को जान्ने ? उसो भए आफूलाई मान्ने मात्रै जान्ने अनि अरूलाई ढुङ्गाले हान्ने ? समाज बुझेका, देखेकाहरूलाई पनि मान्न तयार हुनुपर्‍यो। सबै आलोचना विरोध मात्रै हुन्न, केही सुझाव पनि हुन्छन् तर ती सुझाव सुन्न गठेमङ्गलको जात्राको साङ्केतिक गथांमुगः दहन जस्तै घण्टाकर्ण प्रवृत्तिलाई नष्ट गर्नुपर्छ।

भेडेटारको जङ्गलमा चौपायाको घाँटीमा बजेको घण्टीले किसानको मनमा दिएको आनन्द र दमकलको घण्टीबीच फरक भने हामीहरूले छुट्याउने हिम्मत राख्नुपर्छ।

मन्दिरको सार्वजनिक घण्टाझैं हामी नेपाली जनता धेरैका हातबाट बजिसक्यौं। कहिले राजाका सिपाहीले लाठी बजाए त कहिले कमरेडका जनसेनाले बन्दूकले बजाए। ओलीदेखि माधव, प्रचण्डका एकअर्कालाई दिएका गालीमा ताली बजाउँदा बजाउँदै आफ्नो भविष्यमा खतराको घण्टी बजेको नसुन्निएको हो ?

त्यसैले हतारमा दिएको समर्थन र विश्वास मन्दिर द्वारको घण्टा जस्तो नहोस्- जो आउँछ बजाएर जान्छ। चप्पल चोर्न आउने समेत घण्टा बजाएर जान्छ।

एक सचेत नागरिकले हरेक घण्टामा हैन हरेक घडीमा सजग रही लोकतन्त्रको मन्दिरमा कुशासन र भ्रष्टाचार विरुद्ध घण्ट अवश्य बजाऔं तर आफैंभित्र रहेका घण्टाकर्ण, अन्धकासुर प्रवृत्तिको पनि दहन गरेनौं भने हरेक घण्टाकर्ण कालान्तरमा भष्मासुर बन्ने खतरा रहन्छ !

श्री पशुपतिनाथले सबैको आँखा उघारुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?