+
+

उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले बजेटको आलोचना गरेनन् : ओली 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १९:२०

१२ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योगी, व्यवसायीको ढाड सक्नेगरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि सो विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै उद्योग, वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए ।

‘बजेटमा एकदम बेठीक ढंगका क्रियाकलाप भएका छन् भने ती कुराको उद्योगी-व्यवसायीको हकहितमा खुलेका संगठनले आलोचना गर्नुपर्छ,’ उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संगठनले आलोचना गरेको देखिएन ।’

उनले पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बजे सीमित व्यापारीलाई हेरेर ल्याइएको भन्नेबारे आलोचना गर्नुपर्ने बताए ।

उनले आफ्नो हितमा आफूले नबोले अरु नबोल्ने भन्दै उद्योगी-व्यवसायीलाई बोल्न आग्रह गरे ।

‘आफ्नो हितमा पहिला आफूले बोल्नु पर्‍यो, त्यसकारण हामी आफू पनि बोल्नुपर्छ हाम्रो विभाग पनि बोल्नुपर्छ ,’ ओलीले भने,’मर्कामा परेका उद्योगी-व्यवसायीका पक्षमा बोल्नुपर्छ र उहाँहरुलाई बुझाउनु पनि पर्छ । उनीहरुलाई बोल्न तागत दिनुपर्छ ।’

उनले एक-दुई जना व्यापारी घरानीयालाई हेरेर ल्याएको बजेटले समग्र राष्ट्रिय उद्योग-व्यापारको हित गर्न नसक्ने पनि बताए । उनले एमालेका सही नीतिमा सहमत गराउँदै उद्योगी-व्यवसायीलाई आवद्ध गराउन पनि जोड दिए ।

पार्टीको उद्योग, वाणिज्य तथा आपूर्तिका क्षेत्रमा फैलाइएका भ्रमलाई चिर्दै अघि बढ्न पनि उनले निर्देशन दिए । आर्थिक क्षेत्रका लागि नीति बनाउँदा विभागले राम्रो गृहकार्य गरी सल्लाह सुझाव दिनुपर्ने हुँदा विभागको जिम्मेवारी महत्वपूर्ण रहने पनि बताए ।

बजेटमार्फत ल्याइएका बेठीक कुराहरूको केही उद्योगी-व्यवसायीले विरोध गरिरहेकोमा उनीहरूलाई धन्यवाद दिँदै अध्यक्ष ओलीले भन्नुभयो,’ ‘त्यस्ता कुरामा विभागको पनि साथ सहयोग हुनुपर्छ, बोल्नुपर्छ । विभागका प्रमुख पार्टीका केन्द्रीय सदस्य मोती दुगडको अध्यक्षतामा बैठक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?