+
+

नेपालीको महँगो स्मार्ट फोन मोह, ११ महिनामा ३९ अर्बको मोबाइल आयात

फोन आयात ९ लाखले घट्दा पनि साढे ५ अर्ब बढीको आयात

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २२:०६

१४ असार, काठमाडौं । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ३८ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । यसमध्ये ८ लाख २७ हजार वटा महँगा स्मार्ट फोन हुन् ।

११ महिनामा ५६ लाख ३७ हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ६ अर्ब १७ करोड राजस्व पनि उठाएको छ ।

गत आर्थिक वर्षको यस्तै अवधिमा ३४ अर्ब १४ करोड मूल्यका ६५ लाख ५४ हजार थान सेट आयात भएको थियो । त्यसबाट सरकारले ५ अर्ब ४० करोड राजस्व उठाएको थियो ।

तर, यस वर्षको समीक्षा अवधिमा मोबाइल सेटको संख्या ९ लाखले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब साढे ५ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । महँगा फोनको आयात बढ्दा समग्र संख्या घट्दा समेत फोन किनेबापत बाहिरिने विदेशी मुद्राको दर बढेको छ ।

नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ ।

कोभिड–१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको छ ।

नेपाल मोबाइल व्यवसायी संघ अध्यक्ष पुरुषोत्तम बस्नेतकाका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड/पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् ।

ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढ्दो छ । ह्यांग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ४० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् । नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ ।

नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ । अहिले तारसहितको इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि आक्रमक रुपमा सेवा विस्तार गरेकाले पनि मोबाइल बजार बढाउन सघाउ पुगेको छ ।

अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?