+
+

निर्माणाधीन कमला पुल भाँचिएको एक वर्षदेखि जस्ताको तस्तै, स्थानीयबासी समस्यामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १९:२९

१७ असार, जनकपुरधाम । मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल  भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु   भएको छैन ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् ।

यहीं पुलका कारण नजिकको बाटो पनि पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा अत्यधिक समय लाग्ने गरेको राजविराजका स्थानीय अरुण यादव बताउँछन् ।

‘हुलाकी सडक भएर राजविराजबाट जनकपुरधाम जाँदा डेढ् घण्टामा पुग्न सकिन्छ’ उनी भन्छन्, ‘तर पूर्व पश्चिम राजमार्ग भएर आवतजावत गर्दा ३ घण्टा बढी समय लागिरहेको अवस्था छ ।’

१७ असार २०७८ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम धसेको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल बनाउने ठेक्का पप्पु कन्सट्रक्सनले पाएको थियो । रु २४ करोड ९१ लखमा पुल निर्माणको ठेक्का लिएको यो निर्माण कम्पनी समयमा काम नगर्दा १ असोज २०७६ मा सम्झौता रद्द गरी लुम्बिनी विल्डर्स कन्सट्रक्सनलाई जिम्मेवारी दिइएको थियो । यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा गत बर्षको सामान्य वर्षामै पुल भासिएको थियो ।

लुम्बनी बिल्डर्स कम्पनीका इन्जिनियर सुर्यप्रकाश शर्माले २०७८ असारको पहिलो साता पुल निर्माणको ९९ प्रतिशत काम पुरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएपछि तत्कालीन संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्री उमाशंकर अरगरियाले माला लगाएर धन्यवाद दिएका थिए ।

यो धन्यवाद दिएको दुई सातापछि पुल भासिएको थियो । हुलाकी राजमार्ग अन्तर्गत सप्तरी र सिरहाको अधिकांश सडकमा कालोपत्र समेत भइसकेको छ । यो पुल नभासिएको भए आवतजावत गर्न एकदमै सजिलो हुने विश्वास यस क्षेत्रका बासिन्दाको थियो ।

डिजाइन बनाउने काम भइरहेको छ

हुलाकी सडक आयोजना जनकपुरधामका साइट इन्जिनियर जयनाथ यादव ठेक्का लिएको कम्पनीले नै भत्किएको ठाउँमा काम गर्ने बताउँछन् । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले भत्किएको ठाउँमा काम गर्न डिजाइन बनाइरहेको जानकारीमा आएको उनी बताउँछन् ।

‘चाँडै डिजाइन निर्माण गरी काम शुरु गर्ने जानकारी निर्माण कम्पनीले गराएको छ’ उनले भने, ‘चाँडै काम सम्पन्न हुने विश्वास गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?