+
+
पूर्वमाओवादीको एकता प्रयास :

कार्यकर्ता भित्र्याएर नेतृत्वलाई दबाब दिने प्रचण्ड रणनीति

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार १८ गते १८:१७
विप्लवको साथ छोडेका नेता ओमप्रकाश पुनलगायतलाई पार्टीमा स्वागत गर्दै प्रचण्ड ।

१८ असार, काठमाडौं । बुधबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरुलाई पार्टी प्रवेश गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अब विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

संघ र प्रदेशको चुनाव नजिकिँदै गर्दा प्रचण्डले पूर्वमाओवादीको एकतामा जोड दिएका छन् । नेताहरूका अनुसार हालको गठबन्धनलाई कामय राख्दै पार्टीको आकार सके २०७४ कोभन्दा बढाउने, नभए घट्न नदिने प्रचण्डको रणनीति छ । त्यसका लागि सके पाँच दलबीच देशव्यापी गठबन्धन गर्ने, नभए नेपाली कांग्रेससँग मिल्नसक्ने ठाउँमा मिल्ने र अन्यत्र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मोर्चा बनाउने उनको प्रयास छ ।

छिन्नभिन्न पूर्वमाओवादी समूहहरुलाई माओवादी केन्द्रमा समाहित गर्ने प्रयास पनि प्रचण्डको छ । यसका लागि माओवादी नेताहरुले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेक्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोलालगायगसँग सम्वाद गरिरहेका छन् । त्यहीक्रममा प्रचण्डले एक ठाउँमा आउन आहृवान गरेका हुन् ।

घर सम्झाउने माहौल

वैद्य, विल्लवलगायतले विद्रोह गर्दै नयाँ पार्टी खोल्न थालेपछि प्रचण्ड नेतृत्वको माओवादी छाड्ने लहर चलेको थियो । नयाँ कम्युनिष्ट पार्टीहरु पनि ‘क्रान्तिकारी’ नभएको भन्दै निराश बनेका नेता-कार्यकर्ताहरुतिर अहिले प्रचण्डले नजर लगाएको देखिन्छ ।

गत माघ २५ मा विप्लव नेतृत्वको नेकपाको जुम्ला जिल्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको थियो भने १ फागुनमा सिन्धुलीका पुराना नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका थिए । १ वैशाखमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराईको नेतृत्ववमा जर्दजनबढी पूर्वलडाकू माओवादी केन्द्रमा फकिएका थिए । त्यहीँ नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटब्यूरो सदस्य ज्ञानु बम पनि माओवादीमा प्रवेश गरेका थिए । २५ वैशाखमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

दुई दिन अघि १५ असारमा मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका ओमप्रकाश पुनसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पुनसहितका नेता-कार्यकतालाई स्वागत गर्दै प्रचण्डले बाँकी सबैलाई एकीकृत हुन आह्वान गरे । ‘अब जनता पनि आजित भए’ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि चुनावी प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नजाने भन्ने देखियो । अरुबाट क्रान्ति हुन्छ कि भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

उनले छिट्टै पूर्व माओवादीहरुबीच संस्थागत ढंगले नै एकीकरण हुने समेत दाबी गरे । उनको यो अभिव्यक्ति पूर्वमाओवादी कार्यकर्तालाई आउन उत्साहित पार्ने र नेताहरुलाई एकताका लागि दबाब दिने रणनीति मानिएको छ ।

माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेस साह अहिले माहोल नै पुरानो घर सम्झाउने बनेको बताउँछन् । संसदीय व्यवस्था नमान्ने भनेका विप्लवहरु पनि चुनावमा गएको र त्यहीकारण पार्टी विभाजन भएबाट निराश नेता-कार्यकर्ता मुलघर फर्किने मनस्थितिमा पुगेको उनले बताए । ‘सबै थाकिसके’ उनी भन्छन्, ‘वाम अतिवादको बजार पनि रहेन । यो अवस्थामा अन्यत्र पलयान हुन नसक्ने पुर्वमाओवादी साथीहरु पुरानो घर फर्किनु स्वभाविक हुन्छ ।’

वैद्यले इन्कारे, बाबुराम मझधारमा

माओवादी केन्द्रले एकताको आह्वानसँगै पूर्वमाओवादी नेताहरुसँग संवाद थालेका छन् । वैद्य र विप्लवसँग कष्णबहादुर महरा तथा विप्लव समूहमा बिद्रोह गरेर नयाँ पार्टी खोलेका धर्मेन्द्र बास्तोलालगायतसँग वर्षमान पुन निरन्तर संवादमा छन् । तर वैद्यले एकता इन्कार गरेको र विप्लवले आउँदो असोजमा हुने महाधिवेशनपछि मात्र चित्र स्ष्ट हुने जवाफ दिएको एक नेता बताउँछन् ।

पार्टी एकताको प्रस्ताव अस्वीकार गरेकोबारे अनलाइनखबरको जिज्ञासामा वैद्यले भने, ‘माओवादी केन्द्रसँग फेरी एकता असम्भव छ । उहाँ (प्रचण्ड) संसदीय व्यवस्थाको रक्षक भएर हिँड्ने अनि कसरी हुन्छ हामीसँग पार्टी एकता ?’ प्रचण्डले गरेको राजनीतिक गल्ति स्वीकार नगरेको र गर्ने सम्भावना पनि नभएकाले पार्टी एकता असम्भव भएको वैद्यको भनाइ छ ।

बास्तोलाले भने प्रचण्डबाट भएको पार्टी एकताको पहल सकारात्मक भएको बताएका छन् । ‘यो राम्रै कुरा हो’ उनले भने, ‘राजनीतिमा सम्भावना नहुने भन्ने कुरै हुँदैन ।’

प्रचण्ड, जसपाबाट अलग हुने तयारीमा रहेका बाबुराम भट्टराईसँग पनि निरन्तर छलफललमा छन् । जसपामा संघीय परिषद अध्यक्षसमेत रहेका डा. भट्टराईसँग प्रचण्ड स्वयमले तीन पटक छलफल गरिसकेको एक नेताले बताए ।

भट्टराई एकता भन्दा मोर्चा बनाएर सकारात्मक देखिएको भन्द उनले भने, ‘उहाँ मोर्चाका नाममा एउटै चिह्न लिएर चुनावमा जान तयार देखिनुभएको छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?