+
+

नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

नमिता दाहाल नमिता दाहाल
२०७९ असार १९ गते १०:२१

१९ असार,काठमाडौं । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही भखर्रै मात्र एक महिना लामो वैदेशिक प्रशिक्षण सकेर नेपाल फर्किएकी छिन् । यो प्रशिक्षणले उनमा प्राविधिक खेलनीतिका साथसाथै मनोवैज्ञानिक रुपले आत्मविश्वास बढाएको छ ।

२०७६ असोज अन्तिममा नेपाली महिला राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हालेकी अरुणा नेपालको सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले लगातार २ पटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल टिमको उपाधि जितेको छ ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागमा उनकै नेतृत्वमा ऐतिहासिक रजत पदक जितेको थियो । उनले नेपाल भलिबल संघ र नेदरल्यान्ड्स भलिबल संघको सहकार्यमा पहिलो पटक औपचारिक रुपमा विदेशी प्रशिक्षण लिने मौका पाएकी हुन् ।

राष्ट्रिय टिमबाट सेटर पोजिसनमा खेल्ने अरुणाले नेदरल्यान्ड्समा ३५ दिन यसैसम्बन्धी विशेष प्रशिक्षण लिएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनले आफ्नो पोजिसनमा विशेष प्रशिक्षण लिन पाउँदा मनोवैज्ञानिक रुपमा सवल महसुस गरेको बताइन् ।

भलिबल संस्कृतिमा उच्चस्थानमा रहेको नेदरल्याण्ड्सको सिकाइले नेपाली राष्ट्रिय टिमका लागि ठूलो सहयोग मिल्ने विश्वास अरुणाको छ । ‘हाम्रो नेपाली टिममा सबैभन्दा कमजोर पोजिसन थियो, म आफैंले अनुभवका कमीका कारण स्पाइकरहरुको क्षमतालाई सही तरिकाले प्रयोग गर्न सकेकी थिइनँ । अबका दिनमा टिमको प्रदर्शनमा केही न केही फरक पर्छ जस्तो लाग्छ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।

प्रशिक्षणपछि उनमा खेलको रणनीतिक ज्ञान बढेको छ । ‘यहाँ र त्यहाँको प्रशिक्षणको वातावरण निकै फरक छ । प्राविधिक, रणनीतिक, आधुनिक खेल सामग्री, रमाइलो छ त्यहाँ प्रशिक्षण गर्न,’ उनले थपिन् । नेपालमा भन्दा धेरै प्राविधिक ज्ञान उनले एक महिनाको नेदरल्यान्ड्स प्रशिक्षणमा पाइन् । भिडियो हेरेर खेलको विश्लेषण गर्ने, रणनीति बनाउने गर्दा निकै राम्रो नतिजा आएकोे अरुणाले महसुस गरिन् ।

नेपाल र नेदरल्यान्ड्सको प्रशिक्षणमा मात्रै होइन, भलिबल खेल संस्कृतिमा नै फरक पाइन् । नेपालमा उचाइ भएका मानिसलाई बाहृय रुपले रुचि उत्पन्न गराइ भलिबलमा ल्याइन्छ ।

नेदरल्यान्ड्समा भने सानै उमेरबाट बालबालिकाको रुचिलाई ध्यानमा राखी उनीहरुको भित्री इच्छाको आधारमा भलिबल खेलमा प्रवेश गराइने उनले बताइन् । भन्छिन्, ‘हामीलाई अलिकति अग्लो देखेपछि अन्य मानिसहरुले तिमी भलिबल खेल्न सक्छौं भनेर प्रेरणा दिनुहुन्छ, तर त्यहाँ त्यस्तो नहुँदो रहेछ, सबै खेलाडीले उमेरसमूह तथा विद्यालय स्तरको प्रतियोगिता खेल्दै राष्ट्रिय टिममा स्थान बनाउँदा रहेछन् ।’

नेदरल्याण्ड्सका खेलाडीहरु शारीरिक रुपमा अग्ला, मानसिक रुपमा निकै आत्मविश्वासी पाइन् । सानोमा केही प्राविधीक ज्ञान नपाइ भलिबल खेल्न आएका खेलाडीलाई एकै पटक राष्ट्रिय टिममा आएर प्राविधिक ज्ञान सिकाएर प्रशिक्षण गराउँदा निकै गाह्रो हुने गरेको उनी आफैंले महसुस गरेकी छिन् । ‘उनीहरुको खेलाडीले विद्यालयस्तर र उमेर समुहमा खेलेर आएको कारण राष्ट्रिय टिमसम्म आउँदा अनुभवी भइसकेका हुन्छन्,’ २६ वषर्ीया अरुणाले भनिन् ।

उनले विदेशी प्रशिक्षण पाएपछि नेपाली महिला भलिबल टिमका अन्य खेलाडीलाई पनि यस्तो प्रशिक्षण हुनु पर्ने उनले बताइन् । ‘एक महिनाको भन्दा अझ लामो प्रशिक्षण हुनुपर्छ । एक एक जनालाई भन्दा पनि टिमलाई नै यस्तो प्रशिक्षणको व्यवस्था मिलाउन सके टिमको खेलमा राम्रो सुधार हुन्छ,’ उनले भनिन् ।

नेपाली टिमसँगै अरुणा अहिले आसन्न एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा छिन् । नेपालले पहिलोपल्ट महिला टोलीलाई एसियाली खेलकुदमा सहभागी गराउने निर्णय गरेको छ ।

भिडियो/तस्वीर : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?