+
+

कोपनहेगनको सपिङ मलमा बन्दुकधारीको आक्रमणबाट ३ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते ७:०४

२० असार, काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगनको एक सपिङ मलमा बन्दुकधारीले आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार गोली चलेको थियो ।

प्रहरी प्रमुख सोरेन थोम्सनले सोमबार बिहान पत्रकार सम्मेलन गरी गोली आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको जानकारी दिएका छन् ।

उनका अनुसार आक्रमणमा संलग्न २२ वर्षीय एक जना युवकलाई नियन्त्रणमा लिइएको छ । उनी डेनिस नागरिक भएको प्रहरीले जनाएको छ । उनले आक्रमण गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी पनि प्रहरीले दिएको छ ।

गोली चलेपछि सपिङ मलबाट मानिसहरु रुँदै चिच्याउँदै भागाभाग गरिरहेको भिडिओ फुटेजमा देखिन्छ । एकजना प्रत्यक्षदर्शी म्याक्सिमिलिन भोन रेन्टलेनले बीबीसीसँग भनेका छन्, ‘म सपिङ मलमा प्रवेश गर्नासाथ धेरैपटक गोली चलेको जस्तो आवाज सुनें । त्यतिबेला मैले त्यो साँच्चिकै गोली चलेकै आवाज हो भन्ने सोचिनँ । किनभने यो डेनमार्कजस्तो देशमा कल्पना बाहिरको कुरा हो ।’

सुरक्षित देश भनेर चिनिने डेनमार्कमा भएको यो त्रासदिपूर्ण घटनालाई विश्वका सञ्चार माध्यमले प्राथमिकताका साथ स्थान दिएका छन् ।

प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले डेनमार्कमा क्रूर आक्रमण भएको भन्दै निन्दा गरेकी छन् । उनले ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै यो कठिन समयमा सबै सँगै उभिन र एकअर्कालाई सहयोग गर्न आह्वान गरेकी छन् ।

डेनमार्ककी रानी मार्गरेट, युवराज फ्रेडरिक र युवराज्ञी मेरीले संयुक्त विज्ञप्ति निकालेर घटनालाई त्रासदीको हदको संज्ञा दिएका छन् । उनीहरुले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, उनीहरुका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?