+
+

माडी जाने भूमिगत विद्युत् लाइनको वैकल्पिक प्रस्ताव तयार

चितवन राष्ट्रिय निकुञ्जभित्रको भूमिगत तारमा समस्या आएपछि विद्युत् प्राधिकरणले वैकल्पिक समानान्तर लाइन विछ्याउने गरी तयार गरेको प्रस्ताव राष्ट्रिय निकुञ्ज विभागमा पठाएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०७९ असार २० गते १६:१५

२० असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने विद्युतको भूमिगत तारमा पटक–पटक समस्या आउँदा माडीवासीले दुःख त पाएका छन् नै मर्मतमा खटिने विद्युत प्राधिकरणका प्राविधिकहरु पनि हैरान छन् ।

माडी लगिएको विद्युत लाइनको ८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्दछ । सोही ठाउँमा पटक–पटक समस्या आउँदा माडीवासीले हैरानी व्यहोर्दै आएका छन् । हालैमात्र भूमिगत तारमा समस्या आउँदा माडीमा चार दिनसम्म विद्युत आपूर्ती बन्द भएको थियो ।

यस्तो समस्या वर्षमा तीन–चार पटकसम्म आउने गरेको नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल बताउँछन् । उनका अनुसार ८ किलोमिटर लामो दूरीमा कहाँनेर समस्या छ भनेर पत्ता लगाउन र जंगल भित्र काम गर्न समस्या हुने गरेको छ । ‘पहिलाको भूमिगत लाइन बिछ्याउँदा ४/४ किलोमिटर बाँडेर राखेको भए एउटा सेक्सनमा समस्या भए वा नभएको हेर्न सहज हुन्थ्यो, तर अहिले त्यस्तो छैन, सबै ८ किलोमिटरमा नै हेर्नुपर्ने हुन्छ’ लम्सालले भने, ‘पानी परेको बेलामा यस्तो समस्या आउँदा झनै गाह्रो हुन्छ ।’

पहिले भूमिगत तारमा भएको गडबडी पत्ता लगाउन भारतबाट मेसिन झिकाउनुपर्थ्यो । अहिले त्यस्तो मेसिन नेपाल विद्युत प्राधिकरणसँग नै छ । तर निकुञ्ज क्षेत्रको जंगलमा काम गर्न जोखिम हुने गरेको लम्साल बताउँछन् । ‘जंगलभित्र काम गर्दा जंगली जनावरको डर पनि उत्तिकै छ । वैकल्पिक लाइन भएको भए यति गाह्रो हुने थिएन, प्राविधिक हिसाबले पनि केही समस्या पक्कै छन्,’ वितरण केन्द्र प्रमुख लम्सालले भने, ‘दिगो समाधानका लागि समानान्तर वैकल्पिक लाइन बनाउनै पर्छ ।’

वैकल्पिक व्यवस्थापनको फाइल विभागमा

चितवन राष्ट्रिय निकुञ्ज भित्रको भूमिगत तारमा समस्या आएपछि विद्युत प्राधिकरणले वैकल्पिक समानान्तर लाइन विछ्याउने गरी तयार गरेको प्रस्ताव राष्ट्रिय निकुञ्ज विभागमा पठाएको छ ।

प्राधिकरण चनौती वितरण केन्द्रका प्रमुख लम्सालले दिएको जानकारी अनुसार सुरुमा ईआईए अध्ययन गर्ने अनुमतिका लागि विभागमा फाइल पुगेको छ । ‘पहिला पनि ८ किलोमिटरको ईआईए थियो, अहिले हामीले पूरक प्रस्ताव जस्तो बनाएर अध्ययनका लागि स्वीकृती दिन फाइल पेश गरेका छौं,’ लम्सालले भने, ‘पहिलाको ईआईएले नै सपोर्ट गर्ने गरी नजिकै समानान्तर लाइन विस्तार गर्ने प्रस्ताव छ ।’

प्राधिकरणले हरेक वर्ष निकुञ्ज भित्र वैकल्पिक लाइन विछ्याउने कामका लागि बजेट विनियोजन गर्दै आएको छ । निकुञ्ज विभागले सहमती दिए, ईआईए पास भए लगत्तै ठेक्कामा जाने तयारीमा प्राधिकरण रहेको उनले बताए । ‘हामीलाई पैसाको समस्या छैन, प्रस्ताव सबै तयार छ, स्वीकृत हुनेवित्तिकै पहिलाकै लाइन विछ्याएको नजिकै समानान्तर लाइन बिछ्याउन ठेक्का लगाउँछौं,’ लम्सालले भने, ‘दुई वटा लाइन हुँदा एउटामा समस्या भए अर्कोमा सप्लाई दिएर बिग्रिएकोमा काम गर्न पाइन्छ, जनताको प्रेसर पनि धेरै हुँदैन ।’

वैकल्पिक प्रस्तावमा के छ ?

नयाँ बन्ने भूमिगत लाइनमा अहिलेकोमा भन्दा प्राविधिक हिसावले केही कुराहरु परिवर्तन गर्ने गरी प्रस्ताव गरिएको छ । चनौली वितरण केन्द्रका प्रमुख लम्सालका अनुसार पहिला १/१ किलोमिटरमा टुक्र्याएर गरेर काम गरिएकोमा अहिले प्रस्तावितमा ५–५ सय मिटर मात्रै राखेर काम हुनेछ । यसो हुँदा सोही दिनको काम सोही दिनमा पूरा गर्नुपर्ने हतारो कम हुन्छ र गुणस्तरीय काम हुने विश्वास प्राधिकरणको छ ।

यस्तै पहिला सिङ्गल कोर भएको ३ वटा केवल राखिएकोमा यसपटक ३ कोर भएको केवल राखिने प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख लम्सालले बताए । पहिला ८ ठाउँमा च्याम्बर राखिएकामा यसपटक काम गर्दा १६ वटा च्याम्बर र त्यसमा पनि छुटाउन मिल्ने गरी बनाइने उनले जानकारी दिए ।

१२ करोड रूपैयाँ खर्च गरेर विछ्याइएको भूमिगत तार गुणस्तरको नभएकाले पटक–पटक समस्या आउने गरेको माडीवासी बताउँछन् । पुरानो लाइनमा सिल्भरको तार प्रयोग भएकोमा अब कपर (तामा)को तार प्रयोग गर्नुपर्ने माग उनीहरुको छ ।

तर, विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख लम्सालले अन्यत्र पनि सिल्भरकै तार प्रयोग हुँदै आएको बताए । माडीको लोड जम्मा ३० एम्पियर छ, सिल्भरको लोड धान्ने क्षमता २०० एम्पियर हुन्छ,’ लम्सालले भने, ‘कम गुणस्तरको भएर समस्या आएको भन्ने होइन, अन्यत्र पनि समस्या त आइरहन्छ, यहाँ भूमिगत तार र निकुञ्ज भएकाले काम गर्न समस्या भएको हो ।’ निकुञ्ज क्षेत्र भएकाले प्राधिकरण एक्लैले काम गर्न नसक्ने बताउँदै उनले त्यसका लागि निकुञ्ज प्रशासन र नेपाली सेनाको समेत साथ लिनुपर्ने बताए ।

माडीका युवाहरुले गराए वनमन्त्रीको ध्यानाकर्षण

पटक–पटक माडीमा विद्युत अवरुद्ध हुने समस्या आएपछि माडीका युवाहरुले वैकल्पिक व्यवस्थाको माग गर्दै वन तथा वातावरण मन्त्रीको ध्यानाकर्षण गराएका छन् । माडीका युवाहरु बिमल केसी, सागर अधिकारी, रामचन्द्र कँडेल लगायतको टोलीले आइतवार वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निकुञ्ज खण्डको भूमिगत तारमा खराबी आउँदा पछिल्लो समय ४ दिनसम्म विद्युत सेवाबाट वञ्चित हुनुपरेकाले वैकल्पिक विद्युत लाइन निर्माणका लागि पहल गर्न मन्त्रीको ध्यानाकर्षण गराइएको माडीका युवा बिमल केसीले जानकारी दिए । वैकल्पिक तार व्यवस्थाका लागि आवश्यक पहल गर्ने गरिदिन मन्त्रीलाई अनुरोध गरिएको केसीले बताए । भूमिगत तारको व्यवस्था गर्न मन्त्रालयले सहजीकरण गर्ने मन्त्रीले प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

सो टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र सरोकार समिति अध्यक्ष दिलकुमारी रावल (पार्वती)लाई समेत माडीका समस्याबारे जानकारी गराएको छ ।

 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?