+
+

धनगढीमा उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १५:१७

२० असार, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।

अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको हो ।

नगरसभा बैठकमा बोल्दै एमालेबाट निर्वाचित उपमेयर कन्दकला रानाले योजना तर्जुमादेखि कार्यालयका अन्य कामकाजमा मेयर हमालले कुनै समन्वय नगरेको गरेको आरोप लगाइन् ।

‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई वाइपास गरिएको छ’, रानाले भनिन्, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ रहन्छ तर एकलौटी गर्न थालेकाले हामी यो नगरसभा चलाउन सक्दैनौं ।’

रानाले सरसल्लाह, छलफल र समन्वयका आधारमा मात्र धनगढीको विकास सम्भव भएको उल्लेख गरिन् । योजना तर्जुमा समितिको संयोजक उपमेयर भएपनि योजना बनाउँदा सल्लाह नगरेको दाबी उनको छ ।

उपमेयर रानाले मेयर हमालले धनगढीबाट बाहिर जाँदा समेत आफूलाई कुनै जानकारी नदिएको भन्दै कानुनी व्यवस्थाको बेवास्ता नगर्न आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ आफ्नो कार्यकक्षमा प्रवेश गर्न समेत हिच्किचाउने भन्दै उनले कर्मचारीले समेत आफ्नो अपमान गरेको बताइन् । निजी सचिवालयमा कर्मचारी व्यवस्थापन नगरिदिएको गुनासो समेत उपमेयर रानाको थियो ।

रानाले उठाएका प्रश्नको जवाफ दिदै मेयर हमालले योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको बताउँदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताएका छन् ।

‘योजना शाखाका विज्ञहरुले योजना बनाएका हुन् । म पनि योजना बनाउनमा संलग्न छैन । ती योजनामा मेरो कुनै स्वार्थ झल्किनुपर्यो नी,’ हमालले भने, ‘एक अर्ब ९३ करोडको बजेट सिलिङमा १० करोड काट्दा धेरै योजना काटिएका छन् । त्यो पनि सम्बन्धित शाखाहरुलाई सोधेरै राखिएको हो ।’

उनले आफ्नो काम उपमेयरलाई रिपोर्टिङ गर्ने नभएको बताउँदै व्यक्तिगत काम परेर बाहिर गएको बताए । तर उपमेयरको सचिवालयमा कर्मचारी नराखिएको विषयमा आफूलाई कुनै जानकारी नभएको मेयर हमालले बताए ।
हमालको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले जनप्रतिनिधिहरुले नगरसभा बैठकमा प्रश्न उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?