+
+

लाउरेको आफ्नै जीवनको गीत ‘बिरामी’, भन्छन्- गीतबाट सबैलाई सरी भन्न चाहन्छु !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १३:१४

काठमाडौं । ‘गीत दुई तरीकाले लेखिन्छ । एउटा दिमागबाट र अर्को मनबाट । यो गीत मैले मनबाट लेखेको हुँ । भाइरल हुने कुनै सोच छैन ।’ आफ्नो नयाँ गीत ‘बिरामी’ सार्वजनिक गर्न सोमबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा गीतकार तथा गायक आशिष राना ‘लाउरे’ले ती भनाइ राखेका हुन् ।

लागूऔषध प्रयोग प्रकरणमा जिल्ला प्रहरी कार्यालयबाट धरौटीमा रिहा भएपछि पहिलोपटक ल्याएको गीतले उनकै वास्तविक जीवन चित्रण गर्छ । निजी परिस्थितिलाई गीतमा चित्रण गरेको लाउरेले बताए ।

‘सफरिङ पिरियडमा मैले भोगेको कुरालाई गीतमा बुनेको छु । मैले हर्ट गरेका शुभचिन्तकलाई पनि गीतमार्फत सरी भनेको छु,’ लाउरे सुनिए, ‘मेरा लागि यो गीतभन्दा ठूलो कुरा हो । भविष्यमा ड्रग्स खान मन लाग्यो भने पनि मैले यो गीत सुनेर आफूलाई टाढा राख्छु ।’

चार वर्षपछि लाउरेले ल्याएको नयाँ गीतको टाइटल नै छ ‘बिरामी’ । रोनित शाक्यले संगीत गरेको गीतलाई लाउरेले सन् २०१९ मै लेखेका थिए । हिरासतमा रहँदाखेरि नै यो गीतमाथि आफूलाई भिडियो बनाउन ऊर्जा आएपछि निर्देशक शाक्यसँग सहकार्य गरेको अनुभव उनले सुनाए ।

निर्देशक शाक्यले गीतमा स्वैरकाल्पनिक ढंगबाट कथावाचनको प्रयास गरेका छन् । ‘मेरा लागि यो निकै चुनौतीपूर्ण थियो । एकातिर सर्वसाधारणलाई कथाबारे बुझाउनु थियो भने अर्कोतिर गीतसँग भिडियोलाई न्याय दिनु थियो,’ निर्देशक शाक्यले भने ।

‘बिरामी’ गीत किन ? गीत ल्याउनु पछाडि लागूऔषध प्रयोगविरुद्ध सचेतना जगाउनु रहेको उनी बताउँछन् ।

‘लागूऔषध दुर्व्यसनलाई समाजमा क्राइमको रुपमा हेरिन्छ । डब्लुएचओले यसलाई बिरामीकै संज्ञा दिएको छ,’ उनी भन्छन्, ‘यसबारे युवापुस्तामा जागरुकता जगाउनु जरुरी छ । यसकारण बिरामी ल्याउनुपरेको हो ।’

लाउरेले लागूऔषध प्रयोग गर्न छाडेको आठ महिना भइसकेको छ । उनी अहिले यसबाट मुक्त भइसकेका छन् । छाडेको तीन सातासम्म आफू निकै कठिन भएको बताउने लाउरे अहिले भने लागूऔषधमुक्त जीवन बाँचिरहेका छन् ।

चार वर्षअघि उनले हिमालय टीभीबाट प्रसारण भएको रियालिटी शो रोडिजको लागि गीत ल्याएका थिए ।

उनी तिहारसम्म थप तीन गीत ल्याउने तयारीमा छन् । यसबाहेक विदेशमा समेत उनको सांगीतिक टुर सुरु हुँदैछ । यतिबेला उनी जिल्ला प्रहरी कार्यालय कास्कीको लागूऔषधविरुद्ध सद्भावना दूत पनि हुन् । त्यो अभियान सकिएपछि उनी अहिले गीतका लागि काठमाडौं आइपुगेका छन् ।

कार्यक्रममा गायिका त्रिशला गुरुङ र रोडिज रियालिटी शोका निर्देशक सिमोस सुनुवारले पनि गीतको प्रशंसा गरे ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?