+
+

नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, जोगिन के गर्ने ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ असार २४ गते २३:२९

२४ असार, काठमाडौं । झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।

दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आइरहेको बताए ।

दमकमा यस किराको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । वर्षापछि किराको फैलावट भइरहेको डा. पौडेल बताउँछन् । ‘एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका गरिसकेको छु,’ पौडेलले अनलाइखबरसँग भने, ‘वर्षाको मौसममा अघिल्लो वर्षमा थोरै संख्यामा बिरामी आउँथे । तर, यस वर्ष भने संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।’

बिहीबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर काठमाडौँको निजामति कर्मचारी अस्पतालमा एक मानिस आइपुगेका थिए । उक्त समस्या नाइरोबी फ्लाईको संक्रमणको कारण भएको अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले जानकारी दिए ।

डा. पुडासैनीको अनुसार नाइरोबी फ्लाई बिटल्स प्रजातिको किटाणु (किरा) हो ।

विश्वभर बिटल्सका ३ लाख ७० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको नाइरोबी फ्लाई एक किरा हो । यो हरेक वर्षाको मौसममा देखिन्छ । उक्त किराहरु सुन्तला र कालो रंगका हुन्छन् र उच्च वर्षा हुने क्षेत्रहरूमा बढि देखिन्छन् । बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने डा. पौडेल बताउँछन् ।

उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ (एसिड) छोड्छ जसले छालालाई जलाउँछ ।

‘यो किराले टोक्दैन । यदि केही गरि हाम्रो छालामा किरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ,’ डा. पुडासैनीले अनलाइखबरसँग भने, ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन् । एक वा दुई हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुन सक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ ।’

उनका अनुसार एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।

उक्त किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन् ।

किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ ।

यस किराबाट जटिलता भने नहुने चिकित्सक बताउँछन् । ‘घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला–ठूला फोका आउँछन् । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्टाउन गाह्रो हुन्छ,’ डा. पुडासैनीले भने, ‘यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनुपर्दैन ।’

डा. पौडेलका नाइरोबी फ्लाईकै कारण हो भनेर एकिन गर्न बायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको कारण क्लिनिकल डाइग्नोस्टिकल नाइरोबी फ्लाईकै कारण पुष्टि गर्न सकिन्छ ।

तराईका विभिन्न अस्पतालले नाइरोबी फ्लाई किराको कारण समस्या भएका बिरामीको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका छन् ।

‘यो हाम्रो लागि पनि नयाँ हो । यसविषयमा छालारोग विशेषज्ञसँग छलफल गरिरहेका छौं । तराईका विभिन्न अस्पतालबाट नाइरोबी फ्लाई किराको कारण बिरामी बढेको जानकारी प्राप्त भएको छ,’ इडिसिडीका निर्देशक डा. चुम्मनलाल दासले भने, ‘हामी रोकथाम गर्न जुटेका छौं । अन्य सबै अस्पतालबाट विवरण माग्ने काम भइरहेको छ ।’

चिकित्सकका अनुसार उक्त किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीर सम्म बनाउनसक्छ ।

उक्त किरा एसिडको संक्रमणबाट जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, उक्त संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन हुन सक्छ ।

कसरी जोगिने ?

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।

उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।

‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, डा. पुडासैनीले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने डा. पुडासैनी बताउँछन् ।

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?