+
+

गण्डकीका शिक्षामन्त्री श्रेष्ठको आग्रह : मेरा बुबा-आमाको नाममा छुट्याइएको बजेट हटाइदिनु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ८:५१

२६ असार, काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो ।

मन्त्री श्रेष्ठले आज सामाजिक सन्जालमा स्टाटस राख्दै ट्रष्टको बजेट आगामी वर्षको बजेटबाट हटाइदिन आग्रह गरेका हुन् । ‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्री ज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’

यो फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस् भन्ने उनको चाहना छ ।

गृहजिल्ला स्याङ्जाका ज्येष्ठ नागरिक, विद्यार्थी, असहाय र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यका साथ १२ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर श्रेष्ठले ट्रष्ट स्थापना गरेका थिए । उनले ट्रष्टका लागि बजेट विनियोजन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।

उनको आग्रह बमोजिम गण्डकी सरकारले एक करोड बजेट छुट्याइदिएको छ ।

यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नामबाट उनको गृह जिल्ला तनहुँमा स्थापना गरिएको गोबर्द्धन शर्मा स्मृति कोषलाई ५० लाख बजेट छुट्याइएको छ । बजेटमा मुख्यमन्त्री र मन्त्रीका बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटमा गठबन्धन दलहरुबाटै असन्तुष्टि छ । बजेट पारित गर्ने उद्देश्यले आगामी २८ गते प्रदेश सभाको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?