+
+

प्रहरी तालिममा लडेका भरत बोहराको उपचारको क्रममा मृत्यु

जनक विष्ट जनक विष्ट
२०७९ असार २६ गते १०:४८

२६ असार, धनगढी । एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका-६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । २२ असारको दिन नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेको थियो । आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए । एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडे ।

पुनः लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला-बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो तर शनिबार अस्पतालले भरतलाई बचाउने प्रयास असफल भएको खबर सुनाएको भरतका काका शेरबहादुर बोहराले बताए ।

काका शेरबहादुरका अनुसार भरतले बाल्यकालमा आमाको माया पाउन सकेनन् । उनी चार वर्षको हुँदा आमाले सदाका लागि छोडेर गएपछि बुवाले नै पालनपोषण गरेर हुर्काए । बुवाले दोस्रो बिहे गरेर कान्छी आमा भित्र्याएपछि उनैले भरतको स्याहारसुसार गरिन् ।

सामान्य परिवारमा जन्मिएका बोहराका बुवा अछाममै खेतीपाती गर्दै आएका छन् । खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्म अध्ययन गरे । तर कमजोर आर्थिक अवस्थाका कारण उनले उच्च शिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइमा ब्रेक लगाउँदै कामको खोजी गर्न थाले । सोही बेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि गाउँका अन्य साथीहरुसँगै उनले पनि आवेदन फारम भरे ।

सानैदेखि नेपाल प्रहरी बनेर राष्ट्रको सेवा गर्ने इच्छा भएका बोहरा प्रहरी छनोटको आधारभूत तालिममा सफल हुँदै प्रशिक्षार्थी प्रहरी जवानका रुपमा छनोट भएका थिए । तर राष्ट्रको सेवा गर्ने उनको इच्छा अधुरै भएको छ ।

‘भरत आँखामा राखे पनि नबिझाउने मिलनसार स्वभावको थियो । प्रहरी बनेर राष्ट्रको सेवा गर्न चाहान्थ्यो तर पापी दैवले उनको त्यो सपना अधुरै राख्यो,’ काका नाता पर्ने शेरबहादुर बोहराले भने ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?