+
+

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ असार २६ गते १६:३९

काठमाडौं । झापा र इलामका केही ठाउँमा नाइरोबी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ ।

यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी  फ्लाईको संक्रमण के हो ? यो कत्तिको घातक छ ? लगायतका विषयमा मेची अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. केशव ढकालसँग गरिएको कुराकानी :

नाइरोबी फ्लाई भनेको के हो ?

नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेंलो धर्सा भएको किरा । यो किरा मनसुनमा धेरै ‘एक्टिभ’ हुन्छ । पानी परेपछि धेरै आउँछ । लाइटमा किराको आकर्षण देखिन्छ । यो किराको सम्पर्कमा आएर यसको रस शरीरमा पर्‍यो भने एलर्जी हुने गर्छ । यो एलर्जी किराको टोकाइले नभएर किरा माड्दा निस्कने रस छालामा लाग्यो भने हुने गर्छ । यसै किराको सम्पर्कबाट हुने एलर्जी भएकाले यो एलर्जीलाई पनि नाइरोबी फ्लाइ भनिएको हो ।

यसको एलर्जी कसरी हुन्छ ?

नाइरोबी फ्लाई नामक किराको रसबाट यो एलर्जी हुने गर्छ । यदि कतैबाट यो किरा हाम्रो शरीरमा आइपुग्यो र त्यसलाई हटाउन त्यसलाई माड्यौं वा गल्तीले मर्‍यो भने त्यसको रस हाम्रो शरीरमा लाग्छ र त्यसबाट एलर्जी हुन्छ ।

नाइरोबी फ्लाई किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपवा रसका कारण पनि हुन्छ ।

यो कत्तिको घातक छ ?

यो एलर्जी यो वर्ष मात्र देखिएको नयाँ समस्या होइन । हरेक वर्षायाममा यो समस्या देखिने गर्थ्यो । तर यो वर्ष एलर्जी हुनेको संख्या अलि बढी र सामाजिक सञ्जालको माध्यमबाट यसबारे विभिन्न कुरा बाहिर आएको हुनाले यो समस्या भयानक समस्या जस्तो लागेको हो । यो डरलाग्दो र भयानक रोग भने होइन ।

यसका लक्षण के के देखिन्छन् ?

यो एलर्जी भएको व्यक्तिमा जनैखटिराजस्तो फोका आउने, त्यो फोकामा पानी भरिने, छाला रातो हुने, पोल्ने, रातो डाबर तथा बिमिरा आउने र रातो धर्सेखालको एलर्जी हुने जस्ता लक्षण देखा पर्छन् । लक्षण १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन २ हप्तासम्म लाग्छ र आफैं निको भएर जान्छ ।

यसबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ ?

यो किरा देखिने बित्तिकै त्यसलाई हातले नछोई कागज वा अरू चिजले हटाएर छोइएको ठाउँमा पानीले सफासँग पखाल्नुपर्छ । बाहिर निस्कँदा फुल बाहुला भएको लुगा लगाउजुपर्छ भने सुत्दा झुल लगाएर सुत्नुपर्छ । सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्नुपर्छ । घर वरपर फोहोर हुन दिनुहुँदैन र घर वरपरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

यसको उपचारबारे पनि बताइदिनुस् न ?

किराले एलर्जी गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्छ । एलर्जी भइसकेको छ र धेरै पोलेको छ भने चिसो आइसले सेक्नुपर्छ । १४ देखि १५ दिनमा घाउ आफैं सुकेर जान्छ । धेरै नै दुखेको तथा पोलेको छ भने नजिकको अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?