+
+
आईसीसी क्रिकेट विश्वकप लिग टु :

स्कटल्याण्डमाथि नेपालको सानदार जित

आसिफको उत्कृष्ट ब्याटिङ, सोमपाल र आदिलको उत्कृष्ट बलिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते २२:०६

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ।

ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन ।

बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे ।

शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका उनले १० चौका र १ छक्का हाने ।

राम्रो सुरुवात गरेपछि नेपालले नियमित अन्तरालमा विकेट गुमाएको थियो । आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ४७ रनको साझेदारी गरे ।

यस्तै दोस्रो विकेटका लागि देव खनालसँग ३० तथा तेस्रो विकेटका लागि रोहित पौडेलसँग ४८ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ बलमा २७ रन बनाए । देव खनाल ४ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीको खराब लयले निरन्तरता पाउँदा उनी ३ रनमा आउट भए । आरिफ शेख १ रनमा आउट भए । उपकप्तान रोहित पौडेलले अविजित ३४ रन जोडे । उनले ३१ बल खेल्दै चार चौका प्रहार गरे । स्कटल्याण्डका गेभिन मेइनले ३ विकेट लिए ।

यसअघि सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको थियो ।  टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीले गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४२.२ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

९४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्कटल्याण्डका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले हमजा ताहिरसँग मिलेर १०औं विकेटका लागि ४९ रनको साझेदारी गरे । ५९ बल खेल्दै उनले ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए ।

स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो । त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए ।

स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३-३ विकेट लिए । आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालको यो पहिलो जित पनि हो ।  स्कल्याण्ड भ्रमणको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो ।

जितपछि नेपाल १८ खेलबाट १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । २२ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?