+
+

लिग टु क्रिकेटमा आधा खेल सकिँदा नेपालको सम्भावना कति ?

सबै १८ खेल खेल्ने सन्दीप र करणमात्र

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार ३१ गते १९:२९

३१ असार, काठमाडौं । सन् २०१९ मे मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापसहित आईसीसी क्रिकेट विश्वकप लिग टु को घोषणा गरेको थियो ।

जसमा एकदिवसीय वरीयतामा रहेका १४ देखि २० स्थानसम्मका ७ राष्ट्रका टोलीले ३ वर्षको बीचमा कूल ९ त्रिकोणात्मक शृखंला (३६ खेल) खेल्ने गरी शृखंला तय गरिएको थियो । यो प्रतियोगिता नियमित रुपमा आयोजना हुन सकेको भए सन् २०२२ को जनवरीमै सकिने थियो ।

कोरोना महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित रह्यो । जम्मा २१ शृंखला मध्ये १४औं शृंखला अहिले स्कटल्याण्डमा भइरहेको छ । जहाँ घरेलु टोली स्कटल्याण्डसहित नेपाल र नामिवियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

शृखंलामा नेपालले दुई खेल खेलेको छ र लिग टु मा आधा अर्थात १८ खेल पूरा गरेको छ । नेपालले जारी शृंखलाको बाँकी दुई खेलका अलावा अझै चारवटा शृंखला खेल्न बाँकी छ ।

१८ खेल १७ अंक

लिग टु मा नेपालले अहिलेसम्म चार शृंखला खेलेको छ । अहिले खेलिरहेको शृखंला पाँचौ हो । ३६ मध्ये १८ खेल खेल्दा नेपालको जित करिव आधामात्र छ । नेपालले ८ खेल जित्दा ९ खेलमा हार बेहोरेको छ । एक खेल बराबरी हुँदा नेपालले अंक बाँडेको थियो ।

७ टिम सहभागी लिग टु मा नेपाल अहिले पाँचौ स्थानमा छ । नेपाल भन्दा पछि नामिबिया (१६ अंक) र पपुवा न्युगिनी (२) अंक छ ।

लिग टु मा आफ्नो सबै शृखंला खेलिसकेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ र शीर्ष तीनमा रहँदै विश्वकपको मुख्य छनोट खेल्ने लगभग पक्का छ । बाँकी ६ टिम भने शीर्ष तीनमा पर्नका लागि प्रतिस्पर्धमा छन् । २० खेलबाट जम्मा एक खेल मात्र जितेको पपुवा न्युगिनी यो होडबाट लगभग बाहिरिसकेको छ ।

सन् २०२० मा घरेलु मैदान कीर्तिपुरमा खेल्दै लिग टु मा डेब्यू गरेको नेपालले त्यसपछि ओमान, युएई र अमेरिकामा शृखंला खेलिसकेको छ ।

नेपालले नेपाल, अमेरिका र ओमानसम्मिलित तीनवटै शृंखला खेलिसकेको छ । युएई र पपुवा न्युगिनी सम्मिलित एक शृखंला खेलेको छ ।

कीर्तिपुरमा भएको पहिलो शृंखलामा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । ओमानविरुद्ध भने नेपालले दुवै खेल गुमायो । त्यसपछि २०२१ सेप्टेम्बरमा ओममान भएको शृखंलामा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा दुवै टिमसँग एक एक खेलमा भने पराजित भयो ।

त्यसपछि २०२२ मार्चमा युएईमा भएको शृंखलामा नेपालले पपुवान्यु गिनीलाई दुवै खेलमा हरायो भने युएईसँग दुवै खेलमा पराजित भयो । सुरुवाती तीन शृखंलामा नेपालको जित–हारको अनुपात ५० प्रतिशत थियो ।

अमेरिकामा गत जुनमा भएको शृंखलामा भने नेपालले ओमान विरुद्ध एक खेलमात्र जित्यो । ओमान र अमेरिकासँग एक एक खेलमा पराजित भएको नेपालले अमेरिकासँगको एक खेल भने बराबरी गरेको थियो ।

नेपालले लिग टु का ६ वटै विपक्षीसँग खेलिसकेको छ । जसमा ओमान, अमेरिका, पपुवा न्युगिनी र स्कटल्याण्डलाई नेपालले हराएको छ । तर युएईसँगको दुवै खेल र नामिबयासँगको एक खेलमा भने नेपाल पराजित भएको छ । लिग टु मा पपुवा न्युगिनी र स्कटल्याण्डसँग नेपाल अपराजित छ । ओमान र अमेरिकासँग भने मिश्रित नतिजा निकालेको छ ।

नेपालबाट लिग टु मा अहिलेसम्म कुनै पनि ब्याटरले शतक प्रहार गर्न सकेका छैन । आसिफ शेख र रोहित कुमार पौडेलले सर्वाधिक ४०७ रन बनाएका छन् र लिग टु मा धेरै रन बनाउनेमा उनीहरु संयुक्त रुपमा २६ औं स्थानमा छन् । आरिफ शेखले ३४७ र कुशल भुर्तेलले ३३२ रन बनाएका छन् । नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ९० रन हो ।

लिग टु मा ओमानका जतिन्दर सिंहले ३६ खेलमा सर्वाधिक एक हजार ९८ रन बनाउँदा ओमानकै कप्तान जिसान मक्सुदले ३४ खेलमा ९६९ रन बनाएका छन् ।

बलिङतर्फ कप्तान सन्दीप लामिछाने र करण केसी समान ३७ विकेट लिएका छन् । सन्दीप र करण नेपालबाट लिग टु मा सबै १८ खेल खेल्ने खेलाडी पनि हुन् । लिग टु मा धेरै विकेट लिनेमा यी दुई संयुक्त रुपमा पाँचौ स्थानमा छन् ।

सोमपाल कामीले १४ खेलमा २० र सुशन भारीले १० खेलमा १४ विकेट लिएका छन् । ओमानका बिलाल खानले ३५ खेलमा सर्वाधिक ७६ विकेट लिँदा ओमानका कप्तान मक्सुदले ३४ खेलमा ४७ विकेट लिएका छन् ।

शीर्ष तीनमा पर्ने सम्भावना कति ?

लिग टु मा नेपालले अझै आधा अर्थात १८ खेल खेल्न बाँकी छ । दुई खेल अहिले स्कटल्याण्डमा चलिरहेको शृखंलामा खेल्नेछ । त्यसपछि नेपालले चार शृखंलाको १६ खेल खेल्न बाँकी हुनेछ ।

नेपालले स्कटल्याण्डमा जारी शृखंला अन्तर्गत बाँकी दुई खेलमा शनिवार नामिबिया र आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।

स्कटल्याण्ड शृखंला खेलेपछि नेपालले लिग टु को सबै विपक्षीसँग खेलिसक्नेछ । यस्तोमा नेपाललाई विपक्षी बारे जानकारी हुनेछ । त्यसैले आगामी शृखंलामा खेल्नु अघि नेपालले त्यही अनुसार तयारी गर्न पाउनेछ ।

नेपालले अब खेल्ने चार मध्ये दुई शृखंला घरेलु मैदानमा र दुई शृखंला बाहिर हुनेछ । तर अहिलेसम्म कुन शृंखला कहा हुने तय छैन ।

नेपाल, स्कटल्याण्ड र नामिबिया अनी नेपाल,युएई र पपुवा न्यु गिनी सम्मिलित एक एक शृखंला नेपालमा हुनेछ भने नेपालले नामिबया र पपुवा न्यु गिनरी गएर एक एक शृंखला खेल्नुपर्ने हुन्छ । तर आईसीसीले अझै पनि बाँकी शृंखला कहाँ हुने सार्वजनिक गरेको छैन ।

बाँकी शृंखलाहरु आगामी सेप्टेम्बर, नोभेम्वर र अर्को वर्ष फेब्रुअरीसम्म हुने सम्भावना छ । नेपाल क्रिकेट संघ –क्यान) पनि दुई शृखंला घरेलु मैदानमै गराउने तयारीमा छ । अर्को वर्ष फब्रुअरीसम्म लिग टु को सबै शृंखला सकाउने आईसीसीको तयारी छ । यदी सबै शृंखला सकिएको जित प्रतिशतको आधारमा टिमको स्थान तय हुनेछ ।

ग्लोबल छनोटमा सजिलै पुग्ने हो भने नेपालले शीर्ष स्थानमा लिग टु सकाउनुपर्नेछ र त्यसका लागि बाँकी रहेको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै सकेसम्म धेरै खेल जित्नुपर्ने हुन्छ ।

स्कटल्याण्डमा शृखंला खेल्न जानुअघि कप्तान सन्दीप लामिछानेले तीन खेल जित्ने लक्ष्य रहेको सुनाएका थिए । त्यसो भएमा आगामी शृंखला र बाँकी खेलका लागि योजना बनाएर अघि बढ्न सजिलो हुने उनको भनाई थियो । स्कटल्याण्डमा नेपालले एक जित र एक हारको नतिजा निकालेको छ । अब दुई खेल खेल्न बाँकी छ । यदी सन्दीपले भनेजस्तै नतिजा ल्याउन नेपालले बाँकी दुवै खेल जित्नुपर्नेछ ।

त्यसपछि घरेलु मैदानमा हुने शृंखलामा राम्रो गर्न सके नेपाललाई फाइदा पुग्नेछ ।

विश्वकपको रोडम्याप

एकदिवसीय विश्वकप सन् २०२३ अक्टोबर–नोभेम्बरमा भारतमा हुनेछ । त्यसका लागि ग्लोबल छनोट २०२३ को जुन जुलाईमा जिम्बावेमा हुने तय छ ।

लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । बाँकी चार टिले भने च्यालेन्ज लिगबाट आउने उत्कृष्ट दुईसँग ६ टिम समावेश क्वालिफायर प्लेअफ खेल्नेछ । त्यसबाट शीर्ष दुई टिम ग्लोबल छनोटमा पुग्नेछ । त्यसबाट अहिले सुपर लिग खेलिरहेका १३ मध्ये अन्तिम ५ मा रहने टिमले पनि ग्लोबल छनोट खेल्नेछन् । ग्लोबल छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछ र शीर्ष दुई टिम विश्वकपमा पुग्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?