+
+

लिग टु क्रिकेट : बलिङमै निर्भर नेपालको सफलता

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार ३१ गते ११:४९

३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा स्कटल्याण्ड विरुद्ध पहिलो भेटमै शानदार जित निकालेर नेपालले मनोबल उँचो बनाएको छ ।

यसअघि स्कटल्याण्डसँग चार लिस्ट ए खेल खेल्दा नेपाल सबैमा पारजित भएको थियो ।

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा सोमबार नेपाल नामिबियासँग पराजित भएको थियो । नामिबियासँग नेपालले यसअघि खेलेका चारवटै लिस्ट ए खेल जितेको थियो । तर अफ्रिकन राष्ट्र विरुद्धको पहिलो ओडीआई खेलमा नेपाल पराजित भयो ।

प्रदर्शनमा देखिने लगातारको उचारचढाव नेपाली क्रिकेट टिमको विशेषता हो । विश्वकप लिग टुमा पछिल्लो ३ वर्षयता नेपाली टिमले यही पुष्टि गरेको छ । नेपाली टिमले कुनै खेल हार्दा हार्दै जितको छ त कुनै खेल जित नजिक रहेर पनि गुमाएको छ ।

जितको आधार बलिङ

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेदेखि नै नेपालले ब्याटिङमा एकरुपको प्रदर्शन गर्न सकिराखेको छैन् । ब्याटिङको तुलनामा बलिङ प्रदर्शन सन्तोषजनक छ ।

स्कटल्याण्ड विरुद्ध पनि बलिङकै बलमा नेपालले जितका लागि धेरै संघर्ष गर्नुपरेन । १४५ रनको लक्ष्य नेपालले आधा इनिङमै भेट्टायो ।

नामिबिया विरुद्ध पनि नेपालको बलिङलाई प्रश्न गर्ने ठाउँ थिएन । २२१ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमै अलआउट भयो ।

ओडीआईमा पछिल्ला खेलहरुको नतिजा हेर्ने हो भने नेपालले जितेको खेलमा बलिङ नै हावी छ । कम लक्ष्य पाउँदा पनि ब्याटिङ नचल्दा जित्न सक्ने धेरै खेल हातबाट फुस्किएको छ ।

नेपालले यसअघि गत महिना अमेरिकामा भएको लिग टु मा ओमानलाई ७ विकेटले हराउँदा त्यसको आधार उत्कृष्ट बलिङ नै थियो । त्यस खेलमा करण केसीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिएपछि ओमान १६३ रनमा अलआउट भएको थियो । कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गर्दा नेपालले लक्ष्य सहजै पूरा गरेको थियो । बलरहरुले राम्रो प्रदर्शन गर्दै ब्याटरलाई सजिलो बनाउँदै आएका छन् ।

त्यसअघि नेपालले युएईमा भएको लिग टु कै खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले नै पराजित गर्दा बलरले नै जितको आधार तयार गरेका थिए । बलरहरुले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यु गिनीलाई १७३ रनमा समेटेको थियो । त्यसपछि कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकमा नेपालले ७ विकेटको जित निकालेको थियो ।

स्कटल्याण्ड विरुद्ध पछिल्लो जितमा बलरहरुले सुरुदेखि नै विकेट झार्दै विपक्षीलाई दबाबमा राखे ।

यसपल्ट नेपालको तीव्र गतिको बलिङको प्रभाव देखियो । ३ जना तीव्र गतिका बलरले ७ स्कटिस ब्याटरलाई पभेलियन फर्काए । अनुभवी सोमपाल कामी र युवा आदिल आलमले उत्कृष्ट बलिङ गर्दै ३-३ विकेट लिए भने करण केसीले १ विकेट लिए । उच्च लयमा रहेका लेग स्पिनर कप्तान सन्दीप लामिछानेले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । सन्दीपले नामिबियाविरुद्ध ४ विकेट लिएका थिए ।

१४५ रनको लक्ष्य आधा इनिङ्स खेलेर पूरा गर्दा पनि नेपालले ५ विकेट गुमायो । ओपनर आसिफ शेखले सर्वाधिक ७१ रन बनाए पनि अन्य ब्याटरले संघर्ष गरे । अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाएर आउट भए । देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमै आउट भए । रोहित पौडेलले अविजित ३४ रन बनाएका थिए ।

नामिबिया विरुद्ध ब्याटिङमै चिन्ता

शृंखलाको पहिलो खेलमा नेपाल नामिबिया विरुद्ध ४० रनले पराजित भएको थियो । नेपालले नामिबियालाई १५ बल अगावै २२० रनमा अलआउट गरेको थियो ।

तर आरिफ शेखले अविजित ५० रन बनाउनु बाहेक अन्य ब्याटरले सम्हालिएर खेल्न नसक्दा नेपाल ४६.५ ओभरमा १८० रनमै अलआउट भएको थियो । आरिफ बाहेक देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन बनाए ।

कुशल र देवले राम्रो सुरुवात दिलाए पनि आफूलाई ठूलो स्कोरमा प्रमाणित गर्न सकेका छैनन् । मध्यक्रममा अनुभवी दीपेन्द्रसिंह ऐरीको खराब लय नेपालको सबैभन्दा ठूलो चिन्ता हो । त्यसको परिपूर्तिका लागि नेपालले उपकप्तान रोहित पौडेलबाट लामो इनिङको अपेक्षा गर्ने छ ।

नेपालले अब शनिवार नामिबियासँग अर्को खेल खेल्दैछ । हरेक खेलमा नेपालको चिन्ता ब्याटिङमै हुनेछ र नामिबिया विरुद्ध पनि नेपाली ब्याटरको अर्को परीक्षा हुनेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?