+
+

बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा सुत्केरी

रासस रासस
२०७९ साउन २ गते २०:३६
स्ट्रेचरको सांकेतिक तस्वीर ।

२ साउन, मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोट गाउँमा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा एक गर्भवतीले स्ट्रेचरमै बच्चा जन्माएकी छन् ।

माल्कोट गाउँमा रहेको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती २० वर्षीया वसन्ता विकले स्ट्रेचरमै छोरी जन्माएकी हुन् ।

सोमबार बिहान ६ बजे नै गर्भवतीलाई बर्थिङ सेन्टरमा पुर्‍याए पनि चार घण्टासम्म बर्थिङ सेन्टर बन्द हुँदा बाहिरै बस्नुपरेको र कुनै पनि कार्यालयका स्वास्थ्यकर्मी नभएका कारणले स्ट्रेचरमा नै सुत्केरी भएको सुत्केरीको साथमै रहेकी आफन्त मिमसरा विकले जानकारी दिइन् । ‘सुत्केरी व्यथा लागेपछि बिहान ६ बजे नै बर्थिङ सेन्टरमा पुर्‍याएका थियौं’, उनले भनिन्, ‘चार घण्टापछि स्ट्रेचरमा नै सुत्केरी हुनुभयो । त्यसपछि मात्र स्वास्थ्यकर्मी आउनुभयो ।’

गाउँपालिकाले करार कर्मचारी हटाउँदा बर्थिङ सेन्टर बन्द भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले बताए । ‘दुई जना कार्यरत स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ’, उनले भने, ‘त्यस कारणले सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।’

तारन्तार फोन आउन थालेपछि आफूले यसभन्दा अगाडिका करार कर्मचारी (स्वास्थ्यकर्मी) शान्ति बुढालाई फोन गरेर पठाएकाले ढिलै भए पनि सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य शाखा प्रमुख बटालाको भनाइ छ । ‘अहिले आमा तथा शिशु (छोरी)को अवस्था सामान्य रहेको छ’, उनले भने, ‘ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।’

करार कर्मचारी हटाइएको बहानामा दोष लगाउन नमिल्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘स्वास्थ्यकर्मी प्रदेश सरकारले करारमा नियुक्त गरेको हो । करार स्वास्थ्यकर्मीको काम हैन’, उनले भने, ‘कर्मचारी हटाएको निहुँ खोजी स्थायी कर्मचारी स्वास्थ्य संस्थामा नआएर स्वास्थ्य संस्था बन्द गर्नुभएको छ ।’ नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गमा आइपुग्न पैदल पाँच घण्टा लाग्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?