+
+

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १५:१६
पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै पुबुदु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।

त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

गत मंसिर अन्तिममा पुबुदुले पद संहाल्दा नेपाली टोली विभाजनको अवस्थामा थियो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो । त्यो घटनाले खेलाडीहरु विभाजित थिए ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले प्रशिक्षक पुबुदुलाई अहिलेसम्मको सहयोगका लागि धन्यबाद दिएका छन् । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदुले यसलाई आफ्नो करिअरकै सबैभन्दा कठिन निर्णय भनेका छन् ।

‘यो निर्णय मेरा लागि अहिलेसम्म कै कठिन रह्यो । मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हो । अहिले निर्णय गरिनँ भने पछि पछुताउनुपर्ने भयो ,’ पत्रकार सम्मेलनमा पुबुदुले भने ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आउँदा पुबुदको दुई चुनौती थियो । टी–२० विश्वकपमा छनोट गराउने र गुट उपगुट रहेको मिलाउन चुनौती थियो । नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन भने टिमभित्रको हार्दिकता पनि प्रदर्शनमार्फत देख्न सकिएको छैन ।

ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रोपल्ट विश्वकप खेल्ने सम्भावना गुमाएको थियो ।

यसबीचमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखला खेलेको थियो । १२ खेलमा नेपालले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ ।

पपुवा न्युगिनीविरुद्ध एकदिवशीय शृंखला खेलेकोमा नेपाल पराजित रह्यो । मलेसिया र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला नेपालले जितेको थियो । जिम्बाबे ए टिमसँगको टीप्–२० शृंखला १–१ को बराबरी भएको थियो भने एकदिवशीय शृंखला नेपालले २–१ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?