+
+

‘माया एउटासँग विहे अर्कोसँग’ गर्नेसँग गठबन्धन गर्दैनौं : प्रदीप ज्ञवाली

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन ७ गते १४:३५

७ साउन, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् ।

वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला दल एमाले र कांग्रेससंग समानान्तर ढंगले गठबन्धनका लागि वार्ता सम्भव नहुने बताए ।

‘माया एउटासंग विवाह अर्कैसंग गर्ने अनि औंशी भए एमालेसंग पूर्णिमा भए कांग्रेससंग मिल्ने प्रवृत्ति भएकासंग गठबन्धन हुँदैन’, ज्ञवालीले भने, ‘एमाले गठबन्धन विना पनि चुनाव लड्न सक्षम छ, यदि वाम गठबन्धन गर्ने हो भने माओवादी र एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाड्नुपर्छ ।’

नेता ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरुको भावनामा चोट पु¥याएको टिप्पणी गरे । वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा आफ्नै पार्टीका सांसदहरुले राखेको संशोधन प्रस्ताव विपरीत विधेयक पारित गर्न समर्थन गरेर माओवादीले बेइमानी गरेको ज्ञवालीले बताए ।

वैवाहिक अंगीकृत नागरिकता दिन निश्चित अवधि नतोक्ने प्रावधान रहस्यपूर्ण, त्रुटिपूर्ण र देशको हितमा नभएको ज्ञवालीले टिप्पणी गरे ।

ब्यापार, ब्यवसाय र अन्य क्रियाकलाप गर्न दिएपनि विवाह गरेर आउने वित्तिकै नागरिकता दिने प्रचलन विश्वका कुनै पनि देशमा नभएको ज्ञवालीले बताए । वैवाहिक अंगीकृत बाहेकका अन्य नागरिकतामा भने सरल र सहज तरिकाले हरेक नेपालीले नागरिकता पाउनुपर्ने पक्षमा एमाले रहेको पनि उनको भनाइ छ ।

गठबन्धन सरकारको एक वर्ष राजनीतिक, आर्थिक र राष्ट्रियताको सवालमा पूर्णत असफल भएको ज्ञवालीले बताए । सत्तामा गठबन्धन, वित्तीय क्षेत्रमा गठबन्धन र सत्तामा पुग्न वाह्य शक्तिसंग नांगो रुपमा गठबन्धन गरेर वर्तमान सरकारले मुलुकलाई संकटतर्फ धकेलेको ज्ञवालीको आरोप छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?