+
+

लाइसेन्सको ट्रायलमा पास भएकालाई फेल गरिदिएपछि…

जनक विष्ट जनक विष्ट
२०७९ साउन ९ गते २०:५०

९ साउन, धनगढी । बाजुराको त्रिवेणी नगरपालिका–९ का भीमबहादुर विष्टले गत असार १६ गते धनगढी आएर मोटरसाइकल चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिए । करीब २४ घण्टाको यात्रापछि मोटरसाइकलकै ट्रायलका धनगढी आएका विष्टले धनगढी उपमहानगरपालिका–३ स्थित यातायातको ट्रायल सेन्टरमा बिहानै पुगे ।

झण्डै दुई घण्टा लाइनमा उभिएर ट्रायल दिएका विष्टलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीले पास भएको भन्दै हस्ताक्षरसहितको रसिद फिर्ता गरे । विष्ट ट्रायलमा सफल भएपछि उनको व्यक्तिगत विवरण भएको नगदी रसिदमा यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख लक्ष्मण शाहले पास भएको भनि हस्ताक्षर गरेका छन् ।

ट्रायल दिएकै ठाउँमा विष्टले शाहलाई अब के गर्ने सर ? भनेर सोधे । ‘तपाई पास भइसक्नुभयो । अब यातायात कार्यालयमा गएर लाइसेन्सका लागि कानूनअनुसार लाग्ने राजश्व बुझाउनुहोला । त्यसपछि तपाई लाइसेन्स पाउनुहुन्छ’, शाहले दिएको जवाफ उधृत गर्दै विष्टले अनलाइनखबरसँग भने ।

त्यो दिन उनी पैसा नभएकाले यातायात कार्यालय गएनन्, सोझै घर बाजुरा गए । पैसाको जोहो गरेर उनले धनगढीमै बस्ने भाइलाई ई–सेवा मार्फत पैसा पठाएर यातायात कार्यालयमा गएर राजश्व बुझाइदिन अनुरोध गरे ।

उनका भाइ नाता पर्ने युवक शुक्रबार राजश्व बुझाउन दाजुले छाडेर गएको पास भएको हस्ताक्षर अंकित नगदी रसिद बोकेर यातायात कार्यालय पुगे । केहीबेर लाइनमा लागेर राजश्व बुझाउने पालो पाएका उनलाई विष्टको नाम ट्रायल पास भएको सूचीमा इन्ट्री नरहेकाले फेरि ट्रायल दिनुपर्ने बताए ।

त्यसपछि विष्टका भाइले निमित्त कार्यालय प्रमुख लक्ष्मण शाहलाई भेटे र । नगदी रसिद देखाउदै प्रश्न गरे, ‘सर तपाईंले उतीर्ण भएको भनेर हस्ताक्षर गर्नुभएको छ तर राजश्व शाखाले इन्ट्री छैन भन्यो । खास कुरा के हो ?’ निमित्त कार्यालय प्रमुख शाहले उक्त हस्ताक्षर आफ्नै भएको, विष्ट पास पनि भएको तर इन्ट्री गर्ने बेला केही प्राविधिक त्रुटी भएको दाबी गरे ।

‘भाइसँग हाकिम साबले हस्ताक्षर मेरो हो । उहाँ पास पनि हुनुभएको हो तर अरुले पनि हस्ताक्षर गर्ने भएकाले यसलाई फेल सरह नै मान्छ भन्ने खालको कुरा गर्नुभएको रहेछ,’ विष्टले अनलाइनखबरसँग भने, ‘त्यसपछि मात्र यो कुरा थाहा पाएको हुँ । यसमा गलत नियम राखेर हाकिमले नै जानीजानी मलाई झुक्याउने काम गर्नुभएको छ ।’

ट्रायल दिने ठाउँबाट कार्यालय आएर राजश्व बुझाउनुहोला भनेका प्रमुखले अहिले आएर अरुको समेत हस्ताक्षर आवश्यक पर्ने भनिरहेकाले आर्थिक चलखेल गर्ने गलत मनसाय राखिएको आशंका उनको छ ।

कार्यालयकै बदमासी र गलत नियतका कारण आफू ट्रायलमा पास हुँदा समेत फेल गराइएकाले पुनः ट्रायल दिने नभएर सोही आधारमा लाइसेन्स पाउनुपर्ने उनको माग छ । विष्टले सवारी चालक अनुमति पत्र उपलब्ध गराइदिन आग्रह गर्दै आइतबार यातायात व्यवस्था कार्यालय धनगढीमा निवेदन समेत पेश गरेका छन् ।

विष्टजस्तै ट्रायलमा पास भएका तर कार्यालयका कर्मचारीले गरेको त्रुटिले धेरै जना फेल भएको सूचीमा परेका छन् । त्यस्ता व्यक्तिलाई कार्यालयले पुनः ट्रायल दिन लगाउन बाध्य पार्ने गरेको छ । यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख शाहले असारमा भएको ट्रायल परीक्षामा उतीर्ण भएर पनि इन्ट्रीमा नपरेका ४/५ जना व्यक्ति कार्यालयको सम्पर्कमा आएको स्वीकार गरेका छन् ।

शाह भने यसमा सेवाग्राहीकै कमजोरी भएको दाबी गर्छन् । ‘ट्रायल उतीर्ण गर्न ५/६ वटा चरण पार गर्नुपर्ने हुन्छ तर सेवाग्राहीले नतिजा बन्ने स्थानमा गएर सम्बन्धित अधिकारीको हस्ताक्षर गराउनुपर्ने चरण मिस गरेको देखिन्छ’, शाहले अनलाइनखबरसँग भने, ‘त्यो भनेको रिजल्ट इन्ट्री गर्ने ठाउँमा नपुगेर हिँडेका कारण भएको हो । २÷४ जना यस्ता व्यक्तिहरु हाम्रो सम्पर्कमा आएका छन् । त्यो कुरामा उनीहरुले ध्यान दिनुपर्छ ।’

ट्रायल सेन्टरमा सेवाग्राहीलाई यो ठाउँमा गएर हस्ताक्षर गर्नुस् भनेर त्यहाँका कर्मचारीले समेत सहजीकरण गर्दै आएको उनले दावी गरे ।

‘ट्राफिक प्रहरीका इन्सपेक्टर, यातायातका प्राविधिक र अख्तियारका प्रतिनिधि बसेको ठाउँमा सेवा नपुगेपछि ट्रायलको चरणहरु पूरा भएनन्’, शाहले भने, ‘त्यसलाई पास भएको मानिएन । त्यसैले अब त्यस्ता सेवाग्राहीले पुनः ट्रायल दिनुपर्ने हुन्छ ।’ यो समस्या हल गर्न अन्य कुनै विकल्प नभएको दाबी उनको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?