+
+

बालेन साहले भेटे पर्यटनमन्त्री, पर्यटन क्षेत्रको पुनरुत्थानबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:०२

९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।

काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजनाबारे मेयर साहलाई सुनाएका थिए । जसका लागि काठमाडौंका स्थानीय तहका प्रमुखहरुको सहयोग आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । उनले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए ।

पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको मन्त्री श्रेष्ठले बताए । महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र सम्वर्द्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । स्थानीय साँस्कृतिक सम्पदाहरुको प्रवर्द्धनले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रेष्ठले बताए ।

भेटमा मेयर साहले आगामी इन्द्रजात्रामा सहभागी हुने विदेशी पाहुनाकाबारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विभिन्न मुलुकका मेयरसहित पाहुनाहरुलाई सहभागी गराउने योजना रहेको भन्दै मेयर साहले त्यसको व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे मन्त्री श्रेष्ठ समक्ष चासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?