+
+

वाम-समाजवादी मोर्चा : सजिलो छैन एउटै चिह्नमा चुनाव लड्न

वाम-समाजवादी मोर्चामा रहने दलहरु आगामी चुनावमा एउटै चुनाव चिह्न लिएर लड्न इच्छुक छन्, तर कानुनी रुपमा झञ्झटिलो भएका कारण एउटै चुनाव चिह्न लिन त्यति सजिलो भने छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १९:५६

९ साउन, काठमाडौं । वाम समाजवादी मोर्चा बनाउन माओवादी केन्द्रका नेताहरुको दौडधुप चलिरहेको छ ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता अभियानका संयोजक वामदेव गौतमसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेटवार्ता गरे । माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरे । माओवादी कार्यालय, पेरिस डाँडामा भएको छलफलमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला सहभागी थिए ।

प्रचण्ड, नयाँ पार्टी गठनको प्रक्रियामा रहेका डा. बाबुराम भट्टराईसँग निरन्तर सम्वादमा छन् । एकीकृत समाजवादीका उपमहासचिव ज्वालाका अनुसार जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि समेटेर वाम-समाजवादी मोर्चा बनाउने र नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने प्रयास भइरहेको छ ।

नेताहरुका अनुसार वाम-समाजवादी मोर्चामा आवद्ध दलहरु भने एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव छ । तर एउटै चुनाव चिह्न लिन सहज देखिएको छैन । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘एउटै चुनाव चिह्नमा लड्न झञ्झटिलो रहेछ । तैपनि हामी छलफल गरिरहेका छौं । निर्णयमा पुगिसकेको छैनौं ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुई भन्दा बढी दल एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिनसक्ने व्यवस्था छ । तर प्रत्यक्ष मात्र होइन, समानुपातिक प्रणालीतर्फ पनि एउटै चुनाव चिह्न लिएर लड्नुपर्छ ।

साथै प्रत्यक्षतर्फ हरेक उम्मेदवार कुन दलको हो भन्ने खुलाउनुपर्छ भने समानुपातिक सूचीमा पनि कुन दलले कति नम्बरसम्म लिने भन्ने पहिल्यै बाँडफाँट गर्नुपर्छ ।

‘एउटै चुनाव चिह्न लिँदा प्रत्यक्षमा त सजिलो हुन्छ । तर समानुपातिकतर्फ अहिले नै ११० सिटको बाँडफाँट गर्नुपर्ने रहेछ’, एकीकृत समाजवादीका उपमहासचिव ज्वाला भन्छन्, ‘यसो नगर्ने हो भने आआफ्नो चुनाव चिह्न लिएर लड्नुपर्छ ।’

छिट्टै निर्णय गर्नुपर्ने दबाव

‘नेकपा एकता अभियान’ नामक दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका संयोजक वामदेव गौतमले एकल चुनाव चिह्न लिएर लड्ने विकल्पबारे चासो राखेका थिए । एक आयुक्तका अनुसार गौतमलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ अनुसार चुनाव लड्नसक्ने जानकारी दिइएको छ ।

तर यसबारे निर्णय गर्न भने धेरै समय नभएको आयोगका अधिकारीहरु बताउँछन् । एक आयुक्तका अनुसार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा लगत्तै दल दर्ता खुला हुनेछ । यदि दलहरुले एकल चुनाव चिह्न लिएर लड्ने हो भने नयाँ दल दर्ता गर्दा नै समाजवादी केन्द्र पनि दर्ता गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?