+
+
अस्पतालमा बेथिति :

‘म ठीक छु एकदम, तर मसँग जे भयो त्यो अरूसँग नहोस्’

रोगको सही निदान किन हुँदैन हाम्रा अस्पतालमा ?

कृति भट्टराई, सञ्चारकर्मी कृति भट्टराई, सञ्चारकर्मी
२०७९ साउन १० गते १७:५७
सञ्चारकर्मी कृति भट्टराई

स्वास्थ्य समस्या हुँदा हामी चिकित्सकको भर पर्छौं । कहिलेकाहीं चिकित्सकबाट गल्ती भयो भन्ने घटना धेरै सुनेका, देखेका छौं । चिकित्सकबाट लापरवाही भयो भनेर सुनेका छौं । तर कसैले पनि जानीजानी लापरवाही गर्दैन । मेरो अनुभव साट्दै गर्दा कुनै अस्पतालको पनि नाम लिन चाहन्नँ र कुनै चिकित्सकको पनि नाम लिदिनँ ।

आज (सोमबार) ७० दिन भयो, एउटा सुखद अनुभूतिका साथ जीवनको नयाँ अध्यायको सुरुवात गरेको । अझ भनौं आमा बन्ने स्वर्णिम अवसर पाएको । म अहिलेसम्म घरमा नै छु । सुखद अनुभूतिका बीचमा निकै नमिठो अनुभव पनि मसँग छ । सुरुवाती चरणमा जुन भोगें, विशेषतः निदान सही नपाउँदा शारीरिक भन्दा मानसिक पीडाको बोध गरे । त्यसपछि कतै न कतै लागेको थियो, यसबारे सेयर गर्छु भनेर ।

जेठ ३ गते सिजेरियनमार्फत मैले पहिलो सन्तानलाई जन्म दिएँ । मलाइ ज्वरो आएका कारण डाक्टरले दिएको डेट भन्दा २४ दिन अगाडि नानीलाई जन्म दिनुपर्‍यो । खुसी थिएँ एउटा नयाँ अनुभव, निकै खोजेको र पर्खिएको समय थियो, त्यसैले बेग्लै अनुभूति गरिरहेको थिएँ ।

सायद त्यसपछि गाह्रो यसकारण भयो कि जब सी सेक्सन गरेर बच्चा निकाल्दा मलाई केही जटिलता देखिएको थियो । खुट्टा सुन्निने, नानी पाँच महिनाको हुँदै मलाई खोकी लाग्ने भयो । त्यो बेला कोरोना संक्रमण पनि देखिएको थियो । निरन्तर खोकी लागिरहेपछि डाक्टरले औषधि दिएर कम गर्ने पनि प्रयास पनि गर्नुभएको थियो ।

त्यसपछि डाक्टरले भन्नुभयो, ‘तपाईंको मुटु एकदमै स्वस्थ छ । तपाईंको मुटुमा केही पनि समस्या छैन । पोस्ट डेलिभरीपछि कार्डियोमाइपेथी हुनसक्छ, तर त्यो रिपोर्टमा छैन ।’

तर खोकी निरन्तर थियो । धेरैले बच्चाको कपाल भएकाले आमालाई खोकी लाग्छ पछि बच्चा जन्मिएपछि त्यो ठीक हुन्छ भन्ने किसिमको कुरा गर्नुभएको थियो । खुट्टा सुन्निएको पनि पछि ठीक हुन्छ भनेपछि मैले सामान्य रुपमा लिएको थिएँ । जब मलाई सी सेक्सन गरेर निकालियो दुई दिनसम्म एकदम ठीक थिएँ । मलाई त्यस्तो खोकी पनि लागेन । हल्का ज्वरो थियो । बच्चा मसँग थिएन त्यो अलग कुरा हो । मलाई ठीक थियो म आफूलाई एकदम फ्रेस महसुस गरिरहेको थिएँ । तर दुई दिनपछि मलाई अचानक खोकी लाग्यो ।

सुत्दाखेरि अचानक यस्तो खोकी लाग्यो कि भर्खर डेलिभरी हुँदा चिरेको पेट छ, खोकी लाग्दा निस्सारिएको थिएँ म । बेडबाट उठ्दा मलाई कुर्न बस्नु भएका मेरा दिदीहरु पनि आत्तिनु भएको थियो । हतारमै डाक्टरलाई बोलाउनुभयो, हेर्नुभयो मलाई ‘नेभुलाइजर’ लगाइदियो । त्यसपछि तमाम गर्ने कुराहरु गरियो । बेलाबेलामा खोकी लागिरहेकै थियो ।

किन खोकी लाग्यो भन्दा सायद मलाई  क्रोनिक प्यानेनजाइटिस भएकोले गर्दा भनेर कुरा भयो मेरो ईसीजी रिपोर्ट सामान्य थियो । एक्सरे पनि सामान्य नै थियो, सायद त्यही हो कि भन्ने भयो । डिस्चार्ज दिने बेलामा ‘एन्टी कन्सल्ट’ गर्नु भनेर भनेको थियो । सबै नर्मल भइसकेको थियो । त्यस्तो कुनै समस्या छैन औषधि दिएको थियो । म घर फर्किएँ, त्यसपछि सातौं दिन मलाई सुतेको बेला एकदमै गाह्रो भयो । स्याँ स्याँ गर्दै खोक्दै बोल्न पनि नसक्ने जुन अस्पतालमा पनि अलिअलि भएको थियो । घरमा आएपछि त्यो धेरै भयो । रातभरि  सुत्न सक्ने अवस्था भएन मलाई एकदमै गाह्रो भयो । त्यसपछि मेरो श्रीमानले मलाई भोलिपल्ट बिहानै अस्पताल लैजानुभयो । अस्पतालमा इमर्जेन्सीमा आठ दिनको सुत्केरी भनेर उहाँहरुले त्यही अनुसारको हेर्नुभयो, गाइनोदेखि सबैलाई कन्सल्ट गरियो ।

त्यहाँ मेरो शरीर सुन्निएको इन्फेक्सनले गर्दा हुनसक्छ भनेर  औषधि चलाइदिनुभयो, जसले पिसाब मार्फत मेरो शरीरमा जम्मा भएको पानी बाहिर जान्छ भनेर । त्यसपछि सामान्य हुन्छ भन्नेभयो ।

त्यसपछि उहाँहरुले पिसाब लाग्ने औषधि दिनुभयो इमरजेन्सीमा र चेस्ट इन्फेक्सनका लागि आस्थालिन र रोटाक्याब दिनुभयो । त्यो औषधि बोकेर घर आएँ । मलाई केही सहज महसुस त भएको थियो । खोकी कम भएको थियो । त्यो धेरै समय रहेन, दिनभरिलाई सहज भए पनि रातिबाट फेरि त्यस्तै गाह्रो भयो ।

भोलिपल्ट पनि औषधि खाएर हेरें, निको नभएपछि मैले मेरो परिवारका साथै नेपालको सिनियर हार्ट सर्जन डाक्टरलाई रिपोर्ट पठाएँ, साथै गाइनोकोलिस्टलाई पनि पठाएँ । उहाँहरुले मलाई सल्लाह दिनुभयो । यो मुटुको कारणले भएको हुनसक्छ कसैलाई पोष्ट डेलिभरीपछि कप्लिकेसन आउन सक्छ त्यही भएर अस्पताल जान भन्नुभयो ।

मलाई सल्लाह दिने हार्ट सर्जन उपत्यकाबाहिर भएकाले उहाँकै सल्लाहमा अरुसँग कन्सल्ट गरें । उहाँले त्यस्तो सल्लाह दिएपछि म नेपालको चर्चित कार्डियाक सेन्टरमा गए । त्यहाँ पनि सिनियर डाक्टरसँग फोन गरेर आउन भनेपछि म त्यहाँ गएँ ।

मेरो भोगाइले भन्छ, कुनै स्वास्थ्य समस्या भयो भने एक जनाको मात्र भर पर्न नहुने रहेछ । तर वातावरण यस्तो बनोस्, एक जनाको भर परेर र एउटै रिपोर्टबाट ढुक्क भएर उपचार गर्न सकियोस् ।

त्यहाँ गएर ईकोको रिपोर्ट हेरेपछि यो चाहिं बाथ मुुटुरोग हो । केही भल्बहरु लिक भएको छ । औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । तीनवटा भल्ब बिग्रिएको छ भन्ने रिपोर्ट आयो । त्यतिबेलाको डिउटी डाक्टरले भन्नु भएको मलाई अझै पनि याद छ, ‘हार्ट फेलियरको कण्डिसन हो । पत्रकार हुनुभयो । पत्रकारलाई पनि रोग लाग्यो त’ भन्नुभयो । अनि मैले सायद ठ्याक्कै के भने त याद छैन किन पत्रकारलाई रोग लाग्दैन, पत्रकार पनि त मान्छे हो नि भनेर भनेजस्तो लाग्छ । तैपनि उहाँले त्यसरी भन्दा नमिठो लागेको थियो । त्यसपछि टेन्सन भयो मानसिक रुपमा निकै नै गाह्रो भयो ।

म केही समय हेल्थ बिटमै काम गरेको पत्रकार भएकाले बाथ र मुटुरोग सम्बन्धी कार्यक्रम रेडियोमा गरेको थिएँ । यसको लक्षणका विषयमा धेरथोर म पनि जानकार थिएँ जस्तो लाग्छ ।

यो रोग त बाल्यकालदेखि नै हुन्छ भनेर सुनेको थिएँ । टन्सिलाइटिस्टको र ज्वरो बारम्बर आइरहँदा हुने लक्षणबारे मलाई थाहा थियो । त्यसैको आधारमा मैले आफूलाई प्रश्न गरें, मलाई त्यस्तो कुनै लक्षण थियो ? जुन मैले नजरअन्दाज गरे । मैले त्यो रोग बोकेर हिंडिरहेको थिएँ ?

त्यो अवस्थामा एकातिर नानीको हेरचाह गर्नुपर्ने, अर्कोतिर मनोवैज्ञानिक हिसाबले धेरै सोच्न पनि थालें, कसरी मलाई यस्तो भयो ? त्यसबेला यतिधेरै तनाव महसुस गरें कि, अघिपछि भएको भए सायद यत्तिको नहुन सक्थ्यो । डेलिभरीपछिको अवस्था भएकाले आफूलाई एकदमै कमजोर महसुस गरें । यसअघि यति साह्रो कमजोर महसुस कहिल्यै गरेको थिइनँ ।

एक किसिमले लाग्यो जीवन भर्खर सुरु हुँदैछ, यहीं सकिन्छ कि जस्तो पनि लाग्यो । त्यसपछि जो डाक्टरबाट रिफर गरेर गएको थिएँ, फेरि उहाँलाई नै रिपोर्ट फरवार्ड गरें । उहाँले यति धेरै काउन्सेलिङ गर्नुभयो, म धन्यवाद दिन चाहन्छु । उहाँले यसरी काउन्सेलिङ गर्नुभयो केही पनि हुँदैन भनेर । उहाँले औषधि यो कारणले दिएको, विस्तारै विस्तारै ठीक हुन्छ भनेपछि म कन्भिन्स पनि भएँ ।

एक महिनापछि फलोअपका लागि जाँदा त्यहाँ गइनँ । एकपटक सिनियर डाक्टरसँग कन्सल्ट गरौं भनेर मैले सुरुमा कुरा गरेको हार्ट सर्जनकहाँ गएँ । ईको गर्दागर्दै उहाँले ‘कसले तपाईंलाई यो रोग छ भनेर भन्यो ?’ भनेर सोध्नुभयो । त्यतिखेर मैले सम्झें, मेरो रिपोर्ट गलत रहेछ भनेर म ढुक्क भएँ ।

त्यसपछि डाक्टरले भन्नुभयो, ‘तपाईंको मुटु एकदमै स्वस्थ छ । तपाईंको मुटुमा केही पनि समस्या छैन । पोस्ट डेलिभरीपछि कार्डियोमाइपेथी हुनसक्छ, तर त्यो रिपोर्टमा छैन । त्यतिखेर के भएको थियो भनेर अहिले हेर्ने कुरा भएन । अहिलेको तपाईंको मुटुको अवस्था हेर्दा त्यस्तो कुनै समस्या छैन, कहीं पनि भल्ब लिकेज केही पनि छैन ।’

तैपनि कुनै आशंका भए अर्को डाक्टरकहाँ गएर पनि देखाउन भन्नुभयो । तर उहाँले नै हेरपछि म ढुक्क भएँ, अरुलाई देखाइनँ ।

मेरो शरीरले पनि त्यो खालको फिल गरेको छ । उहाँले १० दिनको औषधि खाएपछि फलोअपको लागि बोलाउनुभएको थियो । अहिले खाएको औषधि बन्द गर्न भन्नुभयो । फेरि खाइरहेको औषधि एकैचोटि रोक्दा असर गर्छ कि भनेर एउटा चाहिं खान दिनुभएको थियो, जुन प्रेसरको थियो ।

यति लामो दिन अर्थात् ७० दिनपछि किन यो अनुभव सेयर गरेको हो भने हामी काठमाडौंमा बसेका छौं, आफूलाई धेरै कुराको ज्ञान भएको भन्ठान्छौं । हामी क्रस चेक गर्नसक्छौं । र, पनि हामीसँग यो खालको समस्या छ । हामी सही निदानसम्म नि पुग्दैनौं भने निदान नै नभइकन चिकित्सकले कसरी सही तरिकाले हाम्रो उपचार गर्न सक्नुहुन्छ ? त्यो निदान नहुँदाको अवस्थामा मानसिक  र शारीरिक यावत् समस्याबाट गुज्रिन्छौं त्यसको जिम्मेवारी कसले लिने ?

सरकारले जिम्मेवारी लिने हो कि मेडिकल काउन्सिलले लिने हो ? वा चिकित्सकहरु कसले लिने हो ? यो प्रश्न मेरो मनमा एकदमै उब्जिएको छ । त्यसैले मैले यो अनुभव सार्वजनिक गर्ने आँट गरेको हो । अहिले म ठीक छु, कमसे कम । तर म ठीक भएर हुँदैन । यो दुई महिनाले जुन पाठ सिकाएको छ । हामी भन्छौं नेपालको चिकित्सालाई विश्वास गर्ने कि नगर्ने तमाम प्रश्न हुन्छ त्यसमा म भन्छु गर्नुपर्छ ।

हाम्रोमा अब्बल चिकित्सक पनि हुनुहुन्छ, मलाई जहाँबाट गलत निदान भयो त्यही पनि मलाई सही निदान दिने पनि चिकित्सक नै हुनुहुन्थ्यो । यसमा शंका गर्नुपर्दैन होला । जहाँ लापरवाही हुन्छ, त्यहाँ चिकित्सकको नाम आउँछ । अरु रेडियोलोजिस्ट, ल्याबटेक्निेसियन उहाँहरुको सम्रगता उहाँहरुको सक्रियताले हो, यो क्षेत्रलाई राम्रो बनाउन सक्ने । एक जनाले मात्र गल्ती गर्छ, त्यो चाहेर पनि ठोकुवा गर्न सक्दैनौं । कसैलाई पनि स्वास्थ्यमा समस्या पार्ने नियत हुँदैन । तर नहुँदा नहुँदै पनि यस्ता तमाम समस्या बारम्बार आइरहेका छन् । निदानमै हाम्रो समस्या हुन्छ, रोग नै पत्ता लाग्दैन भनेपछि कसरी हामी यहाँको स्वास्थ्य प्रणालीलाई विश्वास गर्ने ? हामी सुरक्षित मातृत्वको यत्तिका धेरै कार्यक्रम चलाउँछौ । यत्तिका धेरै बजेट छुट्याउँछौ ।  लगानी गरेर खर्च भएका छन् । यो मात्र कुरा गर्ने हो भने पोस्ट डेलिभरीका कम्लिकेसन हुन सक्ने अवस्थाका बारेमा साँच्चै नै चाहिने जति चेतना फैलाउन सकेका छौं त ?

मेरै केसमा एकचोटि डाक्टरकहाँ गएपछि उसैले लेखिदिएको औषधि खाएर बसिरहन्छौं, अर्को डाक्टरकहाँ जाँदैनौं । मैले पनि सायद त्यही गर्थें होला वा गर्नसक्ने अवस्था हुन्थ्यो होला । मेरो ठाँउमा अरु कोही भएको भए त्यो पनि गर्नुहुन्थ्यो होला । कसैकसैले त्यो पनि गर्नुभएको छ होला । त्यो अवस्थामा हामी छौं भने निदान गलत हुँदा औषधि पनि गलत नै हुनेभयो, त्यसबाट अवस्था के होला ? त्यसैले मैले यो कुरा बाँडेको हो ।

त्यसैले मेरो भोगाइले भन्छ, कुनै स्वास्थ्य समस्या भयो भने एक जनाको मात्र भर पर्न नहुने रहेछ । तर वातावरण यस्तो बनोस्, एक जनाको भर परेर र एउटै रिपोर्टबाट ढुक्क भएर उपचार गर्न सकियोस् ।

(सञ्चारकर्मी भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक गरेको  भनाइको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?