+
+

यशकुमारले ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १६:२०

काठमाडौं । अभिनेता, गायक तथा निर्माता यशकुमारले फिल्म ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने भएका छन् । नयाँ कथावस्तुमा आधारित हुने बताइएको यो फिल्मको पटकथा लेखन सकिएको छ । फिल्ममा कलाकार पनि नयाँ नै हुनेछन् ।

फिल्मलाई यश आफैंले निर्देशन गर्ने तयारी गरिरहेका छन् । ‘तेस्रो सिक्वेलको सम्बन्ध अघिल्ला दुईवटासँग हुनेछैन,’ यशले अनलाइनखबरसँग भने, ‘नयाँ कलाकार र कथावस्तुमा फिल्म निर्माण हुनेछ ।’

यसपटक अमेरिकाको क्यालिफोर्नियाको कथावस्तुलाई फिल्ममा समेटिने भएको छ । ‘यसपटक डायस्पोराको मुद्दालाई हामीले फिल्ममा समेट्नेछौं । तर कथावस्तु चाहिं नेपाली नै हुनेछ,’ उनले भने ।

निर्मातासँगको सल्लाहअनुसार छायांकन सम्भवतः आगामी वर्षदेखि सुरु गर्ने तयारी भइरहेको उनले बताए । अमेरिकामै बसोबास गर्ने कलाकारलाई लिइने बताइएको फिल्मबारे कुरा गर्दै यशले पुराना कलाकारलाई नदोहोर्‍याउने बताए ।

‘बाटोमुनिका फूल’का दुवै सिक्वेलले यशकुमारलाई अभिनेताको रुपमा स्थापित गरेको थियो । जातीय विभेद र प्रेमकथामा आधारित ‘बाटोमुनिका फूल’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

यसैबीच, पल शाहलाई मुख्य भूमिकामा लिएर बनाउन लागिएको भनिएको फिल्म ‘ए मन मुटुजस्तै भन’ चाहिं अनिश्चित बनेको छ । पल कारागार चलान भएपछि फिल्म निर्माण हुनेबारे अन्योल छ । तर अन्तिम फैसला नआउँदासम्म आफूहरुले पललाई प्रतीक्षा गर्ने यशले बताए । ‘यदि अपेक्षा विपरीतको फैसला आयो भने नयाँ कलाकार लिएर अघि बढ्नुपर्ने हुन्छ,’ यशले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?