+
+

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सुधार गर्न जरुरी छ : अध्यक्ष मगर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १५:४१

१९ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले संसदमा पेस गरेको संक्रमणकालीन न्याय सम्बन्धी ऐन सुधार गर्नुपर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवाला निकायहरुसँग संक्रमणकालीन न्यायसम्बन्धी ऐनका बारेमा गरेको छलफलमा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् ।

उनले सरकारले संसदमा पेस गरेको विधेयक परिमार्जन गर्नुपर्ने आयोगको धारणा रहेको बताए । अध्यक्ष मगरले ऐन संशोधन गर्न विषयमा आयोगले अभिभावकको भूमिका खेल्न तयार रहेको पनि बताए ।

उनले मानव अधिकार संरक्षण र प्रवद्र्धनका लागि शपथ खाएर आएकोले संक्रमणकालिन न्यायका लागि आयोग प्रतिवद्ध रहेको बताए ।

अध्यक्ष मगरले संसदमा पेस भएको विधेयकले द्वन्द्व पीडितको मागलाई समेट्न नसेको भन्दै विधेयक सुधारेर जानुको विकल्प नरहेको दाबी गरे ।

उनले विधेयकमा संशोधन गर्नुपर्ने विषयमा आयोगले आफ्नो धारणा बनाएर सरकारलाई पत्र बुझाउने प्रतिवद्धता जनाए । विधेयक फिर्ता लिँदा झन् समय खेर जाने भन्दै अध्यक्ष मगरले पास हुनुअघि विवाद नभइ सच्याउन सकिने ठाउँमा सुधार गरेर जानुपर्ने बताए ।

‘बेपत्ता पारिएका छानबिन सत्यनिरुपण तथा मेलमिलाप ऐनको विषय टुङ्गिनुपर्छ । यो विषय टुंग्याउन मानव अधिकार आयोग लाग्छ । यो विधेयक फिता गरेर अर्को विधेयक ल्याउनुपर्ने हो की ? भन्नेकुरा आयो, ‘ उनले भने, ‘विधेयक फिर्ता गर्नु हुँदैन । विधेयक फिर्ता गर्‍यो भने झन् धेरै समय लाग्छ । विधेयक फिर्ता भन्दा पनि सुधार गर्नुपर्छ । सुधार गरेर गयो भने चाँडै पनि हुन्छ, न्याय पनि पाइन्छ । ’

कार्यक्रममा बोल्दै द्वन्द्व पीडित एकमाया विश्वकर्माले विधेयकमा त्रुटिपूर्ण प्रावधानहरू राखिएको भन्दै आपत्ति जनाए । उनले सेना प्रहरीलाई सशस्त्र र विद्रोही पक्षलाई निःशस्त्र बनाउने गरी विधेयकमा परिभाषा रहेको बताए ।

विश्वकर्माले राज्यले आतङ्ककारी घोषणा गरेको समूह निःशस्त्र हुन नसक्ने दाबी गरे । उनले मान्छे मारेको कुरा गम्भीर मानव अधिकार उल्लङ्घनको घटना हो कि हैन भन्दै प्रश्न गरे ।

उनले पीडितले न्याय पाउने आयोग मागेको तर सरकारले राजनीतिक नियुक्ति दिएर जागिर खुवाउने काम भइरहेको बताए ।

विश्वकर्माले कान, मुख बन्द गरेर खहेरेर मात्र बस भन्ने कानून नहुने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै द्वन्द्व पीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले गोविन्दप्रसाद शर्मा कोईराला कानूनमन्त्री बनेसँगै द्वन्द्व पीडितले न्याय पाउने आशा गरेपनि आशा मरेको बताए ।

उनले मन्त्री कोईरालाले सत्य निरुपण तथा मेलमिलाप संशोधन ऐनको मस्यौदा पीडितको पक्षमा ल्याउने आशा गरेपनि रातारात द्वन्द्व पीडितको विरुद्धको मस्यौदा संसदमा दर्ता गराएको बताए ।

अध्यक्ष कार्कीले हत्या जस्तो अपराधको विषयलाई समेत गम्भीर मानव अधिकार उल्लङ्घनको परिभाषाभित्र नराखेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष कार्कीले द्वन्द्व पीडितलाई न्याय दिनको लागि आयोगहरु गठन गरे पनि राजनीतिक नियुक्ति दिएर जागिर खाने काम मात्रै भएको बताए । उनले सरकारले संसदमा पेस गरेको विधेयकमा राखिएका प्रावधानहरु संशोधन नभएसम्म मान्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?