+
+

प्रदेश सांसदको गुनासो : भत्ता काटिँदा बैठकमा कोरम पुगेन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:२३

२२ साउन, विराटनगर । प्रदेश १ को प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले बैठक भत्ता कटौती भएका कारण संसदीय समिति प्रभावकारी नभएको बताएका छन् । आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्दै उनले सरकारले भत्ता कटौती गरेका कारण बैठकमा कोरम पुर्‍याउन पनि मुश्किल परेको बताएका हुन् ।

‘बीचमा के लागेर हो भत्ता चट्टै काटियो, सदन लागेका बेला बैठक बस्यो डबल भत्ता नपाइने, अरु बेला बोलाउँदा खर्च नपुग्ने, भाडा नपुग्ने, किन आउनु समितिको बैठकमा भनेर भत्ताले पनि डिस्टर्ब गर्‍यो’, उनले भने, ‘अर्काे, बीचमा कोरोना आइलाग्यो, जसले गर्दा समितिको बैठक बाक्लो बस्न सकेन ।’

यो समितिको बैठक २०७६/०७७ मा १५, ०७७/०७८ मा ६ र ०७८/०७९ मा चारवटा बैठक बसेको उनले बताए । बैठक बस्नका लागि भत्ताका कारण असहज भएको उनको भनाइ छ । ‘धेरै विषयमा छलफल गर्‍यौं, डुल्यौं घुम्यौं, अनुगमन गर्‍यौं, रिपोर्टहरु पेश गर्‍यौं’, उनले भने, ‘सरकारलाई निर्देशन गर्‍यौं, सुझाव दियौं ।’

उनले समितिलाई आवश्यक परेको विवरण दिनका लागि सरकारले गाह्रो मान्ने र ढिलो दिने गरेको बताए । समितिले दिएको निर्देशन र सुझावलाई कार्यान्वयन नगरिएको उनको भनाइ छ ।

सुशासन तथा योजना समिति सभापति अर्जुन राईले प्रतिवेदन पेस गर्दै सरकारको खर्च संरचना र वार्षिक कार्यक्रम बजेट र नीति तथा कार्यक्रम अनुसार नमिलेका कारण मिलाउन निर्देशन दिए । उनले प्रदेशको संरचनालाई प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए । उनले योजना छनोट गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका जनप्रतिनिधिलाई सहभागी गराउन पनि प्रदेश सरकारलाई सुझाव दिए ।

अर्थ समितिका सभापति मोहनकुमार खड्काले विभिन्न समयमा अनुगमन तथा छलफल गरी प्रदेश सरकारलाई सुझाव र निर्देशन दिइएको बताए ।

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईंले समितिमा परेका उजुरी उपर अध्ययन अनुगमन गरी समितिले सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिएकोे बताए ।

उनले सार्वजनिक लेखा समितिले माग गरेको विवरण चाँडो उपलब्ध गराउन सरकारलाई आग्रह गरे । समितिको कामलाई प्रविधिमैत्री बनाउनका लागि बजेट व्यवस्था गर्न सुझाव दिँदै उनले अध्ययनका लागि वैदेशिक भ्रमणको व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?