
२३ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिएको छ ।
प्रदेशसभा सदस्य नभई मन्त्री बनेका हुम्लाका लामा नेकपा माओवादी केन्द्रको सिफारिसमा २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका थिए ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सदस्य नभई मन्त्री बनेकाहरु ६ महिनाभित्र प्रदेशसभा सदस्य हुनुपर्नेछ, अन्यता स्वतः पद रिक्त हुनेछ । सोही अनुसार लामाको कार्यकाल सोमबार सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मन्त्रीमा नियुक्त भएसँगै लामामाथि मूर्ति चोरीको आरोप लागेपछि सुरुमै उनी विवादित बनेका थिए ।
लामाको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको प्रमुख सचेतक कृष्णा शाहले बताइन् । ‘कसलाई मन्त्री बनाउँने भन्ने बारे छलफल चलिरहेको छ, अहिले दलकोे बैठक जारी छ,’ अनलाइखबरसँग प्रमुख सचेतक शाहले भनिन् ।
मन्त्री लामाको पद रिक्त हुने भएपछि माओवादी केन्द्रबाट डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ ।
सांसद शाही अघिल्लो पटक नै मन्त्रीको चर्चामा रहेपनि अन्तिम समयमा गैरसांसद कार्चेन लामालाई मन्त्री बनाइएपछि उनी रुष्ट बनेका थिए । वीरबहादुर शाहीसँगै कृष्णा शाहको पनि मन्त्रीमा चर्चा थियो । तर जाजरकोटबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनिसकेकोले डोल्पाका सांसद शाही मन्त्री बन्ने पक्का–पक्की भएको माओवादीका एक सांसदले बताए ।
माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको र बैठकमा माओवादीबाट प्रदेश सरकारमा सहभागी अरु दुई मन्त्रीमा पनि नयाँ अनुहार पठाउने बारेपनि छलफल चलेको प्रमुख सचेतक शाहले बताइन् ।
कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । नेपाली कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्रले जलस्रोत तथा उर्जा, अर्थ र उद्योग मन्त्रालय सम्हालेको छ । माओवादीबाट मन्त्री बनेका उद्योग मन्त्री लामाको कार्यकाल स्वतः सकिएसँगै जलस्रोत र ऊर्जामा पनि नयाँ अनुहारलाई पठाउने भन्नेबारे संसदीय दलभित्र छलफल सुरु भएको छ ।
११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् । यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।
माओवादीबाट कर्णाली प्रदेशसभ सदस्य रहेका सांसदमध्ये वीरबहादुर शाही, कृष्णा शाह र रातो कामी मात्रै मन्त्री बन्न बाँकी रहेका छन् ।
दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर बिष्ट पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए तर एमालेमा प्रवेश गरेपछि उनीहरू अहिले सांसद छैनन् ।
प्रतिक्रिया 4